तपाईँ सुन्दै हुनुहुन्छः

झापामा नदी तथा खोला उत्खनन् रोक्न जनप्रतिधि र स्थानीय एकजुट

झापा । झापाको पूर्वाेत्तर क्षेत्र बुद्धशान्ति गाँउपालिकामा रहेको नदी तथा खोलाहरुमा उत्खनन् नरोकिदा खानेपानी तथा भौतिक पूर्वाधारमा क्षत्ति पुगेको भन्दै जनप्रतिधि र स्थानीय त्यस विरुद्ध एकजुट भएका छन् ।
टिमाई र कुरुङ खोलाको दोहन हुने क्रम नरोकिएको भन्दै बुद्धशान्ति–६ का वडाध्यक्ष शम्भुप्रसाद पौडेलले खोलाको प्राकृतिक स्रोतको संरक्षण गर्नका लागि स्थानीय अगुवासहित जनप्रतिनिधि एक भएर लागेको बताउनुभयो । गत वर्षदेखि नै खोलामा दोहन हुने जानकारी आएको भन्दै स्थानीय अगुवाकै पहलमा यसलाई रोक्न एकजुट हुने निर्णय भएको वडाध्यक्ष पौडेलले रेडियो नेपाललाई जानकारी दिनुभयो ।
सरकारले वर्षाको समयमा असार एक गतेदेखि भदौ मसान्तसम्म नदीजन्य वस्तु निकासीमा रोक लगाएपनि टिमाई खोलामा भने नदीजन्य वस्तु ढुंङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा निकासी नरोकिएकाले स्थानीयले विरोध गरेपछि जनप्रतिनिधिहरुकै अगुवाईमा तस्करी रोक्न समिति गठन भएको छ ।
नदीबाट चरम रुपमा उत्खनन् भएका कारण पिउने पानीको मुहान सुक्दै गएको, नहर र पैनीका मुहान उठाउन समस्या भएको र बस्ती समेत जोखिममा परेको स्थानीयले गुनासो गरेका छन् । चुरे क्षेत्रमा पहिरोको जोखिम समेत बढेकाले बस्तीहरु नै जोखिममा पर्न सक्ने भन्दै स्थानीयले चिन्ता ब्यक्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button