तपाईँ सुन्दै हुनुहुन्छः

डिपबोरिङबाट पानी

जाजरकोट-वर्षौदेखि खानेपानीको अभाव रहेको भेरी नगरपालिका–१३ कुदुमा खानेपानीको समस्या समाधान भएको छ । डिपबोरिङबाट १५२ मिटर तल जमीनबाट भूमिगत पानी निकालेपछि यहाँका करीब ४६५ घरधुरीले खानेपानीको समस्याबाट मुक्ति पाएका हुन् । नगरपालिकाको रु ४५ लाख रकम खर्च गरेर जमीनमुनिबाट पानी निकालिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो ।

विद्युत्बाट पानी निकाल्ने काम हुने अपरेटर राजेश बिसीले बताउनुभयो । पच्चीस मिनेटमा दुई हजार लिटरभन्दा बढी पानी निकाल्न सकिने उहाँले जानकारी दिनुभयो । डिपबोरिङबाट निकालिएको पानी प्रयोग गरेवापत प्रतिघरधुरी रु १०० तिर्नुपर्ने नगरपालिकाले जनाएको छ । एक महीनामा पानी निकाल्न कम्तीमा १०० युनिट विद्युत् खपत हुने गर्दछ ।

स्थानीयवासीको आवश्यकताका आधारमा पानी निकाल्ने काम हुने गरेको बिसीले बताउनुभयो । वर्षाैदेखि वडा नं १३ स्थित कुदुवासी खानेपानीका लागि एक घण्टा टाढा हिँडेर भेरी नदीको फोहर पानी पिउन बाध्य थिए । वर्षौँपछि घर नजिकै मनग्य पानी प्रयोग गर्न पाएपछि स्थानीयवासी खुशी भएका नरबहादुर वस्नेतले बताउनुभयो ।

पटक–पटकको प्रयासपछि मात्र यो कार्य सफल भएको उहाँको भनाइ छ । अहिले शुद्ध पानी नभएकाले केही समयपछि पानी शुद्धीकरण गरी अन्य धारा थपिने नगरपालिकाले जनाएको छ । जिल्लाको सबैभन्दा ठूलो खेतीयोग्य फाँट भए पनि सिँचाइको अभावमा बाँझै रहँदै आएको थियो । अब यो पानी प्रयोग गरी सिँचाइ गर्न सके कुदुवासीका लागि लाभदायिक हुने स्थानीय रेनुका आचार्यले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button