तपाईँ सुन्दै हुनुहुन्छः

केराखेतीमा थोपा सिँचाइ

कञ्चनपुर-व्यावसायिक केराखेतीको लगात खर्च घटाई बढी आम्दानी लिन बेलौरी नगरपालिका–८ कलकत्ताका करमसिंह रानाले केराबारीमा थोपा सिँचाइ प्रणाली जडान गर्नुभएको छ । खेतमा रोपिएका केराका बोटसम्म सहजरूपमा सिँचाइ र मल पु¥याउन थोपा सिँचाइ प्रणाली जडान गरिएको हो ।

थोपा सिँचाइका लागि राखिएको प्लाष्टिकको ड्रममा मलसमेत राखेर सिँचाइसँगै चाहिने मात्रामा मलसमेत आपूर्ति गर्न सकिने व्यवस्था गरिएको छ । रोपिएका केराका प्रत्येक बिरुवामा पाइपमार्फत सिँचाइका लागि पानी पु¥याउने व्यवस्था गरिएको छ । सो नगरपालिका क्षेत्रमा थोपा सिँचाइ प्रणालीमार्फत केराखेती यो नै पहिलो हो ।

थोपा सिँचाइका लागि नगरपालिको कृषि विकास शाखाको रु एक लाख ५० हजार अनुदान र किसानको रु एक लाख ५५ हजार ८२ गरी रु तीन लाख पाँच हजार ८२ लगानी गरिएको छ । थोपा सिँचाइ प्रविधिको प्रयोग गरी केराखेती गर्दा सिँचाइ र मलखादलाई सिस्टमबाटै दिन सकिने भएकाले पटक–पटक लाग्ने खर्चबाट किसान जोगिन गई उत्पादनमा वृद्धि हुने कृषि विकास शाखाका प्राविधिक सहायक हरिश सेटीले बताउनुभयो । राना यस क्षेत्रकै व्यावसायिक केराखेतीमा सफल किसान हुनुहुन्छ ।

उहाँले एक बिघा खेतमा रोपिएका केरामा थोपा सिँचाइ प्रणाली जडान गर्नुभएको छ । अन्य चार बिघा जग्गा भाडामा लिएर केराखेतीलाई व्यावसायिकरूपमा अँगाल्दै आउनुभएको छ । एक बिघा जग्गामा भर्खरै केरा रोपिएकाले बोटहरु हुर्कदै गएका छन् । चार बिघा जग्गामा लगाइएको केरा बजारमा बिक्री गर्न शुरु गर्नुभएको छ । यस वर्षको हालसम्म रु आठ लाख बढीका केरा उहाँले बिक्री गरिसक्नुभएको छ ।

केरा खेतबाटै बिक्री हुने गरेका छन् । डडेल्धुरा, अत्तरिया, भीमदत्तनगर, धनगढीलगायत क्षेत्रका व्यापारीले ढुवानीका साधनसहित केराबारीमै पुगेर खरीद गरेर लैजाने गरेका छन् । रानाले बढी प्रतिफल दिने जीनौ जातको केराखेती गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button