२०७८ साल असोज ३१ गते आइतबार

तपाईँ सुन्दै हुनुहुन्छः

सयौँ वर्ष पुरानो पर्मेली परम्परा संरक्षणमा रुम्जाटारका किसान

पूर्णप्रसाद न्यौपाने २०७६ भदौ ८ गते १०:३३

ओखलढुंगा । ओखलढुंगाको रुम्जाटारका किसान सयौं वर्ष पुरानो पर्मेली परम्परा संरक्षणमा जुटेका छन् । निकै प्राचीन संस्कृति मानिने पर्मेली गीत गाउँदै अर्म–पर्म लगाएर काम गर्ने यहाँको पुरानो चलन हराउँदै गएपछि किसानहरु परम्परा जोगाउन लागेका हुन् ।
‘ठाडे, टोड्के देउराली
चिप्ले चौर पसल
अरुको माइती भन्दा
हाम्रै माइती असल’
यी ओखलढुंगाको रुम्जाटारमा हरेकवर्ष गुन्जने गीतका शब्दहरु हुन् । यतिबेला रुम्जाटारका किसान रोपाइँमा व्यस्त छन् । अन्य ठाँउको तुलनामा रुम्जाटारको रोपाइँ निकै फरक हुन्छ । सयौं वर्षदेखि चलेको पर्मेली परम्परा अझै कायमै छ ।
रूम्जाटारको विशेषताकै रुपमा लिइने पर्मेली मेलामा गाइने पर्मेली गीत विस्तारै लोप हुन थालेपनि पछिल्लो पुस्ता परम्परा जोगाउन लागिपरेको स्थानीय लिलामाया खतिवडाले बताउनुभयो । ‘उहिले उहिले त खुबै मेला लाग्थ्यो । गाना बजानाले गाउँ नै संगीतमय हुन्थ्यो’, उहाँले भन्नुभयो, ‘त्यस्तै त अहिले अलि छैन तर पनि पुरानो चलन हराउन दिएका छैनौं ।’
स्थानीय किसान भेला हुन्छन् । एकदिन एउटाको र अर्को दिन फरक व्यक्तिको खेतबारीमा उनीहरु भेटिन्छन् । किसानहरुले समूह बनाउने र पालैपालो सबैको खेती लगाउने चलन करिब दुई महिनासम्म चल्छ ।
रूम्जाटारमा मध्य असारदेखि धान, कोदो रोप्ने पर्म सुरू हुन्छ । यो क्रम भदौको १५ देखि २० गते सम्म चल्छ । गीत गाउन, मादल बजाउन र खेतीको काम गर्न आलोपालो गरिन्छ । आधुनिकता र कृषिमा पछिल्लो पुस्ताको आकर्षण कम हुँदा परम्परा नै लोप हुने अवस्थामा पुगेको स्थानीय कृषक विष्णु गुरुङले बताउनुभयो । ‘पहिले मादल, बासुरी, बाच्छे बाजा अनिवार्य गरिन्थ्यो, अहिलेका नानीहरु मोवाईलमा गीत बजाएर रमाईलो गर्न खोज्छन् ।’ गुरुङले भन्नुभयो, ‘यहाँको पर्मेली हेर्न बाहिरका मान्छेहरु पनि आउँथे । युवाहरु बारीमा काम गर्न रुचाउँदैनन् । अब यो चलन पनि हामी हुञ्जेल मात्रै रहला जस्तो छ ।’
स्थानीयहरु बसाई सरेर अन्यन्त्र जानु, युवाहरु विदेशिनु र कृषि पेशा पछिल्लो पुस्ताको आकर्षणको पेशा नबन्नुको असर रुम्जाटारको पर्मेली परम्परामा पनि परेको उहाँको भनाई छ ।
रुम्जाटारका किसानहरु दुईदेखि तीन समूहमा बाँडिएर काम गरिरहेका हुन्छन् । एउटा समुहमा १० देखि ६० जनासम्म हुन्छन् । एक दिन एक जनाको मेला सकेपछि अर्को दिन अर्काको मेलामा सहयोग गर्ने यो परम्परा सयौँ वर्ष पुरानो हो । अझै माइती र चेलीका रुपमा चेलीले कोसेली दिएपछि माइती पर्मका लागि पक्का हुने र पर्म सकिएपछि हुक्काई खाने चलन अझै छ ।
नेपाल एकीकरणका बेला झागल गुरूङको नेतृत्वमा गुरूङ सेनाका रुपमा आउँदा यहीँ बसोबास गरेको इतिहासमा उल्लेख छ । कोदो रोप्ने, गोड्ने, टिप्नेमात्रै नभएर धान रोप्दा पनि पर्म लगाउने चलन अझै कायम छ । तर, पर्मको मुख्य विशेषता पर्मेली गीत भने आगामी केही वर्षमा मेलामा नभएर क्यासेटमा सुन्नुपर्ने अवस्था भएको स्थानीय कर्णबहादुर दर्जीको तर्क छ । ‘बुढाबुढीले परम्परा धानेका छन् । नानीहरु सिक्न पनि खोज्दैनन् । केही केहीले मात्रै सिकेर अग्रजलाई सघाईरहेका छन् ।’ उहाँले भन्नुभयो,‘स्थानीय सरकारले यसलाई सम्पत्तिका रुपमा लिएर संरक्षण गरेर युवाहरुलाई पनि समेट्न आवश्यक छ । नभए पर्मेली गीत रेडियो र क्यासेटमा सुन्नुपर्ने अवस्था आउँछ ।’
विगतका वर्षहरु झैं अर्मपर्म गरेर रोपाइँको काम गरिरहेका रुम्जाटारका किसानलाई यसवर्ष पर्म तिरेर सकिँदैन कि भन्ने चिन्ता छ । रोपाईको समय सकिने बेला भएपनि अझै २५ जनाको समूहमा १० जनाको रोपाई गर्न बाँकी छ । समयमै पानी नपरेका कारण सबैको खेतबारीमा रोपाइँको काम सक्न हम्मे हम्मे भएको किसानहरु बताउँछन् ।
पूर्वकै प्रसिद्ध संस्कृतिका रुपमा परिचित पर्मेली मेलाको मुख्य पहिचान जोगाउन सक्दो भूमिका खेल्ने सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छाकुमारी गुरुङ बताउनुभयो । पर्मेली परम्परा संकटमा पर्ने अवस्था आउन नदिन आफुहरुले पहल गर्ने बताउनुभयो । ‘सबैले आ–आफ्नो ठाँउबाट भूमिका खेल्नुपर्छ । स्थानीय सरकारले त्यसको नेतृत्व लिन्छ ।’ पर्म लगाउँदै खेती गर्ने पर्मेली परम्परा संरक्षण र प्रचारप्रसार गर्न सक्नुपर्ने उपप्रमुख गुरुङको भनाई छ ।
रुम्जाटारको पर्मेली गीत खोजिखोजी कलाकारहरुले म्युजिक भिडियो बनाउन थालेका छन् ।

सम्बन्धित