तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक सम्पत्ति सुरक्षाको विषय गम्भीर र चुनौतिपुर्ण बन्दै: पोखरेल

काठमाण्डौ / कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति सुरक्षाको विषय गम्भीर र चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको छ ।

काठमाण्डौ महानगरपालिका वडा नम्बर ४ मा प्रदेश सरकारद्वारा निर्माण गरिएको पार्कको उद्घाटन गर्दे उहाँले सार्वजनिक सम्पत्तिको सुरक्षा नै मुख्य चुनौतीको विषय बनेको बताउनुभएको हो । उहाँले देशभर नै सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्ति देखिएको र त्यो प्रवृत्ति पार्टीभित्रै पनि देखिएको संकेत गर्नुभयो ।

उहाँले सार्वजनिक जग्गा उपभोग गर्न खोज्ने व्यक्तिको नाम भने उल्लेख गर्नुभएन । उहाँले भन्नुभयो, ‘अहिले एउटा हाम्रो अगाडि चुनौती छ । सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीहरुभित्रै समस्या छन् । म तपाईँहरुलाई तोकेर भन्न चाहन्नँ । हामीभित्रै समस्या छन् । सार्वजनिक सम्पत्ति व्यक्तिले लिन पाए, कब्जा गर्न पाए, उपभोग गर्न पाए, मज्जा मान्ने चिन्तन र प्रवृत्तिहरु छन् । यो गलत चिज हो । यसको विरुद्ध जुध्नुपर्छ । सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो ।’

काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले क्षतिग्रस्त बनेका सम्पदाहरुको पुनर्निर्माणको कामले गति लिएको भन्दै सहयोग र सहकार्यमा सहभागी हुन नगरबासीलाई आग्रह गर्नुभयो ।

धरहरा पुनर्निर्माणको काम संघीय सरकारद्वारा पुननिर्माण प्राधिकरणले अघि बढाइसकेको तथा रानीपोखरी र काष्ठमण्डप पुनर्निर्माणको काम पनि धमाधम भैरहेको भन्दै पुनर्निर्माणको काममा अवरोध पुर्‍याउने काम कहीँ कतैबाट गर्न नहुनेतर्फ सचेत गराउनुभयो ।

विगतमा विभिन्न बहानामा हुने गरेका विरोधले पुनर्निर्माणका काममा समस्या भएको गुनासो पनि उहाँले गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button