तपाईँ सुन्दै हुनुहुन्छः

कृषि पेशामा युवा नेता आचार्य

तनहुँ-तनहुँको व्यास नगरपालिका–११ सेराका युवा नेता रमेश आचार्य राजनीतिसँगै कृषि पेशामा सक्रिय हुनुहुन्छ । उहाँले राजनीतिलाई समाजसेवा र कृषिलाई आफ्नो जीवनयापनको माध्यम बनाउनुभएको छ । उहाँले होलस्टेन र जर्सी जातका दुई÷दुई गाई पाल्नुभएको छ । साथै पाँच रोपनीमा मौसमी र बेमौसमी तरकारी उत्पादन गर्न थाल्नुभएको छ ।

गाईको दूध बेचेर ४० हजार र तरकारीबाट ४० हजार गरी मासिक ८० हजार रुपैया बचत हुने गरेको आचार्यले जानकारी दिनुभयो । तत्कालिन नेकपा एमाले निकट भातृ सङ्गठन अनेस्ववियु तनहुँ जिल्लाका पूर्वअध्यक्ष तथा अनेस्ववियुको केन्द्रीय सदस्य रहनुभएका युवानेता आचार्य हाल कृषक पेशामा लाग्दा छिमेकीसमेत दङ्ग पर्ने गरेका छन् ।

गाईको दूध, गहुँत र गोबर बिक्री गरी आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । एक गाईको दूध बिक्रीबाट मासिक रु १० हजार नाफा हुन्छ । आचार्यले भन्नुभयो, “छिमेकीको दूधसमेत खरीद गरी बिहान र बेलुका चार किलोमिटर परको सदरमुकाम दमौलीमा दूध बेच्छु ।” हाल दैनिक रु ७० देखि ८० लिटर दूध बिक्री हुन्छ ।

कृषिकर्मलाई जीवनसङ्गिनी भूमिकाले साथ दिँनुभएकोले काम सहज बनेको छ । राजनीति भनेको सामाजिक क्षेत्रको हो, आर्थिकरूपमा फाइदा छैन । तर, घरपरिवार चलाउन पैसा जरुरत पर्ने भएकाले मैले कृषि पेशालाई अँगालेको आचार्यको भनाइ छ । समाज सेवामा आफ्नो रुचि रहेकाले राजनीति र कृषिलाई एकैसाथ लैजाने योजना रहेको आचार्य बताउनुहुन्छ ।

कृषिसम्बन्धी नीति बनाउँदा कृषकलाई नै राखेर बनाउनुपर्छ । उहाँले भन्नुभयो, “किसान राखेर नीति बनाउनसके मात्रै किसानमैत्री नीति बन्न सक्छ र वास्तविक किसान लाभान्वित हुन सक्छन् ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button