तपाईँ सुन्दै हुनुहुन्छः

नक्कली भूकम्पपीडितले पैसा फिर्ता गर्न थाले

नक्कली भूकम्पपीडितले रकम धमाधम फिर्ता गर्न थालेका छन् । स्थानीय पूर्वाधार तथा अनुदान व्यवस्थापन आयोजनाका अनुसार असार मसान्तसम्म १० करोड ८६ लाख रुपैयाँ फिर्ता भएको छ । रकम फिर्ता गर्ने क्रम जारी रहेको आयोजनाले जनाएको छ । अहिलेसम्म १ हजार ९ सय ३९ जनाले रकम फिर्ता गरिसकेका छन् ।

पहिलो किस्ता बुझेर रकम फिर्ता गर्ने १३६ जना छन् । त्यस्तै दोस्रो किस्ता बुझ्ने २ र तेस्रो किस्ता बुझेका १ जनाले रकम फिर्ता गरेका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पहिलो किस्ताका रूपमा पीडितलाई ५० हजार दिइन्छ । दोस्रो किस्ताका रूपमा डेढ लाख र तेस्रो किस्ताका रूपमा १ लाख पाउने व्यवस्था छ । त्यस्तै दोहोरो भुक्तानी लिएर फिर्ता गर्नेको संख्या १ हजार ७ रहेको छ ।

जसमा पहिलो किस्ता बुझ्ने १ हजार ५ सय ९५, दोस्रो किस्ता बुझ्ने ९७ र तेस्रो किस्ता ८ जनाले बुझेको पाइएको छ । आयोजनाका इन्जिनियर सम्रक कर्मचार्यका अनुसार बैंकमा पीडितको नाममा रकम गएर पनि नबुझ्नेको संख्या १ सय छ । जुन रकम फिर्ता भएको उनले बताए । पहिलो किस्ता ८७ र दोस्रो किस्ता १३ जनाको नाममा बैंकमा गएको थियो । ‘अझै रकम फिर्ता हुने क्रम जारी छ,’ उनले भने, ‘सबैभन्दा बढी रकम अति प्रभावित जिल्लाबाट फिर्ता भएको छ ।’

कम प्रभावित जिल्लाबाट अति प्रभावित जिल्लाको तुलनामा कम रकम फिर्ता भएको छ । झुटो विवरण पेस गरेर रकम बुझ्नेलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले फिर्ता गर्न सूचना जारी गरेसँगै नक्कली भूकम्पपीडितले रकम फिर्ता गर्न थालेका हुन् । ‘प्राधिकरणले रकम फिर्ता गर्न ताकेता गरेको र फिर्ता नगरे नियमअनुसार कारबाही गर्ने कुरा सूचनमा उल्लेख गरेको थियो,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भने, ‘पहिला नक्कली भूकम्पपीडितले रकम पाए भन्ने गुनासो आयो, त्यहीअनुसार कडाइ गरिएको हो ।’ उनका अनुसार भूकम्पपीडित कोही नछुटुन् र कोही नदोहोरिउन भन्ने छ ।

अति प्रभावित १४ र कम प्रभावित १७ जिल्लाबाट रकम फिर्ता भएको हो । सबैभन्दा बढी नुवाकोटबाट मात्र २ करोड १७ लाख रुपैयाँ फिर्ता भएको छ । त्यस्तै उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी ललितपुरबाट फिर्ता भएको छ ।  ललितपुरबाट १ करोड ३१ लाख रुपैयाँ फिर्ता भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button