तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषधको प्रयोग र कारोवारमा वृद्धि

घोराही-जिल्ला प्रहरी कार्यालय दाङले गत वर्ष लागुऔषधसम्बन्धी ३५ वटा मुद्दा चलाएको छ । तीमध्ये ब्राउनसुगरको प्रयोग र कारोवारमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालयले चलाएको २९ वटा मुद्दामा ३८ पुरुष र चार महिला रहेका छन् । तीमध्ये २६ पुरुष र दुई महिला धरौटीमा छुटेका छन् भने बाँकी छ पुरुष र दुई महिला अझै अनुसन्धानका क्रममा छन् । प्रहरीले चार जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । पक्राउ परेका व्यक्तिहरुबाट सो अवधिमा प्रहरीले २२० ग्राम ३९० मिलीग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

ब्राउनसुगरको यो मात्रा थोरै भए पनि मूल्य धेरै हुन आउँछ । जसकारण यसलाई प्रहरीले ठूलो उपलब्धि मानेको छ । यसैगरी गत वर्ष चरेस कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई महिला र चार पुरुषलाई पक्राउ गरेको छ । लागुऔषध चरेससम्बन्धी एउटा मुद्दा चलाइएकोमा दुई महिला र दुई पुरुष पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रमुख राजन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार, चरेस कारोवारमा संलग्न रहेको आरोपमा पक्राउ परेकामध्ये एक जना धरौटीमा छुटेको छ भने एक जना फरार रहेको छ ।

सो अवधिमा पक्राउ परेका चार जनाबाट ६० किलो ८०० ग्राम चरेस बरामद गरिएको थियो । त्यस्तै जिल्ला प्रहरी कार्यालयले लागुऔषध अफिम सम्बन्धी गत वर्ष एउटा मुद्दा चलाएको छ । लागुऔषध अफिमको कारोवारमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाबाट प्रहरीले दुई किलो ५०० ग्राम अफिम बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्लाको धेरै ठाउँमा पाइने गाँजा उत्पादन, बिक्री वितरण र सेवन सबै गैरकानूनी मानिन्छ ।

विगत एक वर्षमा प्रहरीले पाँच पुरुष, तीन महिलालाई पक्राउ गरी उनीहरुविरुद्ध तीन मुद्दा अदालतमा दर्ता गरेकामा सबै धरौटीमा छुटेका छन् । नाइट्रोभेट चक्की कारोवार र सेवनको मुद्दामा प्रहरीले चार पुरुषलाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध प्रहरीले मुद्दा चलाए पनि तीन जना धरौटीमा छुटेको र एक जनाको अनुसन्धानमा भइरहेको प्रहरीले जनाएको छ । लागुऔषधको रुपमा प्रयोग हुने डाइजापाम र नुफिनसहित पनि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुवै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button