तपाईँ सुन्दै हुनुहुन्छः

सहकारी ग्रामिण क्षेत्रका निम्नस्तरसम्म पुग्नुपर्छ : मन्त्री अर्याल

काठमाडौं ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले साना किसानकृषि सहकारी संस्था गाउँ गाउँका किसानको घरदैलोमा पुग्नुपर्ने बताउनुभएको छ ।
नेपाल साना किसान कृषि सहकारी संघ केन्द्रीय आयोजना गरेको ‘नेपाल सहकारी विकास साझेदारी कार्यक्रम : नेपालमा सहकारीको आगामी पुस्ताको लागि ढाँचाको तयारी सम्बन्धि कार्यशाला’ गोष्ठीलाई
सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

साना किसान ग्रामीण क्षेत्रसम्म पुग्न सफल भएको भन्दै मन्त्री अर्यालले भन्नुभयो, ‘तपाईहरु गाउँसम्म पुग्नुभएको छ । अझ निम्नस्तरसम्म पुग्नेगरी तपाइहरू अगाडी बढ्नुस ।’सहकारी माथिमाथि ठूलाका हातमा भए र तिनीहरूले फाइदा लिए भन्ने गुनासो रहेको भन्दै मन्त्री अर्यालले अब सहकारी संस्थाहरू राष्ट्रिय आम्दानीमा योगदान दिनेगरी अगाडि बढ्नुपर्ने बताउनुभयो । आम मान्छेको जीवन बदल्नेगरी सहकारीले योगदान दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय आम्दानीमा ठूलो योगदान दिनेगरी अगाडी बढ्नुस । मानिसको जीवन बदल्ने अभियानको अभियन्ता सहकारी हो भन्ने कुरा व्यवहारबाट पुष्टि गर्नेगरी अगाडी बढ्नुस ।’अब परम्परागत खेती प्रणाली फेरेर मुलुक प्रगतिको दिशामा अगाडी बढ्नुपर्ने भन्दै उहाँले जमिन बाँझो राखेर समृद्ध हुन नसकिने बताउनुभयो ।’भूमि साधन पनि हो स्रोत पनि हो । पूँजिको महत्वपुर्ण स्रोत नेपालको सन्दर्भमा भूमि हो । अब भूमिको व्यवस्थापन उपयोगका आधारमा गर्नुपर्छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘अबको भूमिको प्रयोग यसरी गर्नुपर्छ भनेर राज्यले कानुन बनाएर नीजि सम्पत्तिको सदुपयोग उचित ढंगले गर्नुपर्छ । उपयोगका आधारमा भूमिको व्यवस्थापन गर्नुपर्छ ।’

भूमि व्यवस्थापन उपयोगका आधारमा हुने भन्दै उहाँले ब्यवसायिक बन्नका निम्ती ऐन, कानुनले पनि प्रबन्ध गरेको बताउनुभयो । अब उत्पादनमूलक कार्यलाई जोड दिएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
‘भएको जमिनको प्रयोगबाट कति परिवारका कति सदस्यलाई रोजगारी दिन सकिन्छ। त्यो योजनाका साथ हामी अगाडी बढौं’, मन्त्री अर्यालले भन्नुभयो, ‘बजारले के खोज्छ र माटोमा के उत्पादन उपयुक्त हुन्छ त्यसका आधारमा हामी व्यवसायिकरणमा जानुपर्छ ।’
पछिल्लो समय नेपालले तरकारीमा प्रगति गरिरहेको बताउदै मन्त्री अर्यालले फलफूलको सन्दर्भमा भने नेपाली बजार भारतीय फलफूलले ढाकेको अवस्था रहेको बताउनुभयो ।
अब गाउँलाई केन्द्रित गरेर उत्पादनलाई जोड दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो,
‘गाउँको विकास/ग्रामिण क्षेत्रको आर्थिक विकास गर्ने भनेको कृषिको व्यवसायिकरण नै हो । अब हामीले कृषिमै फर्किने हो । हिजोको कृषि र आजको कृषिमा फरक पार्ने हो ।’

अब गाउँगाउँमा सहकारीको मोडलमा सामुहिक फार्महरू सञ्चालन गर्नुपर्ने भन्दै मन्त्री अर्यालले जनतालाई काम गर्नका निम्ती झञ्झट बनाउने खालको कानुनका बाधाहरू फुकाउनुपर्ने बताउनुभयो । त्यसका लागि मन्त्रालय अगाडि बढिसकेको समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button