तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानको एक विद्यालयमा शिक्षक अभाब हुँदा कार्यालय सहयोगीले पढाउँदै

सल्यानको एक विद्यालयमा कार्यालय सहयोगीले पढाउँदै आउनुभएको छ । तलब नपाएका शिक्षकले विद्यालय छोडेपछि कार्यालय सहयोगी राधिका परियारले विद्यार्थीहरुलाई पढाउन थाल्नुभएको हो । वनगाड कुपिण्डे–४ देउलीमा रहेको बाललीला प्राथमिक विद्यालयका प्रकाश बुढासहित अर्का एक शिक्षकले तलब नपाएको भन्दै पढाउन छोडेकाले विद्यार्थीको बिचल्ली भएको थियो । विसं २०६६ मा स्थापित उक्त विद्यालयमा दरबन्दी नहँुदा पनि उहाँहरूले निजी स्रोतमा पढाउँदै आउनुभएको थियो ।

एक वर्षसम्म निरन्तर विद्यालयमा पढाए पनि आफूले तलब नपाएको शिक्षक बुढाले बताउनुभयो । “विगत एक वर्षसम्म उधारोमा पढाए विद्यालयमा पैसा आउने स्रोत नै नभएपछि अझ उधारोमा काम गर्न नसकेर छोडेँ”, उहाँले भन्नुभयो । विद्यालयमा शिक्षक नआएपछि आफूले नै पढाउन थालेको कार्यालय सहयोगी परियारले जानकारी दिनुभयो । “निजी स्रोतमा रहेका दुई शिक्षकले विद्यालय आउन छोडेपछि विद्यालय बन्द हुँदा विद्यार्थीहरुलाई समस्या हुने भएकाले मैले पढाउन थालेको हूँ”, उहाँले भन्नुभयो ।

आफूले पनि तलब नपाएको जानकारी दिँदै कार्यालय सहयोगी परियारले भन्नुभयो । “विद्यालयमा चाहिने सबै शैक्षिक सामग्री आफँैले किनेर ल्याउँछु, मेरो चिन्ता बालबालिकाको भविष्य नबिग्रियोस् भन्ने हो ।” विद्यालयमा कुनै स्रोत नभएपछि तलब दिन नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर बुढाले बताउनुभयो । “विद्यालयको आफ्नो स्रोत छैन, विद्यार्थीबाट शुल्क उठाउन नपाइने र समुदायले पनि नदिने भएकाले विद्यालय सञ्चालन गर्न गाह्रो भइरहेको छ”, अध्यक्ष बुढाले भन्नुभयो ।

विद्यालयको समस्याका बारेमा नगरपालिकामा पटक पटक कुरा राखे पनि सुनुवाइ नभएको उहाँको गुनासो थियो । “नगरपालिकाबाट शिक्षामा छुट्याइएको करोडौँ रकम फ्रिज भएर जान्छ तर नगरपालिकाभित्रका विद्यालयको अवस्था दर्दनाक छ, हाम्रो कुराको सुनुवाइ हँुदैन”, उहाँले भन्नुभयो । शिशुदेखि कक्षा तीन सम्म २६ विद्यार्थीले अध्ययन गरिरहेका सो विद्यालयमा निजी स्रोतबाट तलब सुविधा दिनेगरी दुई शिक्षक र एक कार्यालय सहयोगीको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button