तपाईँ सुन्दै हुनुहुन्छः

द्रुतमार्गको कामले तीव्रता पाउने

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडाँै–तराई–मधेश द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भएसँगै आयोजनाको कामले तीव्रता पाउने भएको छ ।

कोरियाको सुसुङ इञ्जिनीयरिङ एवं कन्सल्टिङ कम्पनीले तयार गरेको डिपिआरलाई सरोकारवाला मन्त्रालयसँगको परामर्शमा संशोधनसहित भदौ १ गते मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

एसियाली राजमार्गको ‘क’ वर्गको डिजाइन मापदण्डका आधारमा बनाइने उक्त द्रूतमार्गको अनुमानित निर्माण लागत मूल्य अभिवृद्धिकर सहित रु एक खर्ब ७५ अर्ब १९ करोड ३५ लाख ७९ हजार रहेको छ ।

नेपाल सरकारको प्रचलित दररेट र नियमका साथै अन्तर्राष्ट्रिय मापदण्डलाई समेत आधार मानी लागत अनुमान तयार भएको जनाइएको छ । सडक निर्माणको खास लागत भने रु एक खर्ब ५५ अर्ब तीन करोड ८५ लाख ६५ हजार लग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

नेपाली सेनाको व्यवस्थापनमा उच्च प्राथमिकताका साथ द्रुतगतिमै कार्यान्वयन हुने उक्त आयोजनालाई गुणस्तरसहित निर्धारित समयमै सम्पन्न गर्न डिपिआरलाई महत्वपूर्ण र आधारभूत दस्तावेजका रूपमा लिइन्छ ।

डिपिआर स्वीकृत भएसँगै साबिकको ७६ दशमलव २ किमीबाट ३ दशमलव ७ किमी कम भई ७२ दशमलव ५ किमी कायम भएको उक्त दु्रतमार्गमा महादेव डाँडा, धेद्रे डाँडा र लेन डाँडामा गरी तीन वटा सुरुङ बन्ने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

तीन वटा सुरुङको लम्बाइ ६ दशमलव ४१ किमी छ भने ठूला अग्लासहित ८७ वटा पुल उक्त मार्गमा रहनेछ । पाँच महीनासम्म उक्त डिपिआर स्वीकृत नहुँदा कामले तीव्रता पाउन नसकी अघिल्लो वर्ष विनियोजन भएको रु १५ अर्बमध्ये रु नौ अर्ब रकम फिर्ता भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button