तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा आज नानी गौरा मनाइदै

सुदूरपश्चिमेलीको मुख्य चाड गौरा शुरु भएसँगै गाउँघरमा रौनक छाएको छ । बैतडीसहित सुदूरपश्चिममा मनाइने यस पर्वको दोस्रो दिन आज व्रतालु महिलाले ‘बिरुडा’ (गहँु, केराउ, गहत, मास र गुरुस) पखाल्ने गर्दछन् । हिजो भिजाइएका बिरुडालाई नजिकका नदी, तलाउ तथा धारामा लगेर पखाल्ने चलन छ । व्रतालु महिलाले आज बिहानै स्नान गरेर नजिकको धारा, तलाउ तथा कुवामा गई गौरादेवीको पूजाआजा गरेका र धान, साउँ, तिल, अपामार्गलगायत बोटबाट गौराको प्रतिमूर्ति बनाई शृङ्गारपटार गरेर गौराको पूजा गरेको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो । । नजिकको धारा, कुवा तथा तलाउमा प्रतिस्थापन गरिएको गौराको मूर्तिलाई विभिन्न फागसहित बिरुडाले पूजा गरिन्छ । आज नदी, तलाउ तथा धारामा मनाइने गौरालाई स्थानीयभाषामा ‘नानी गौरा’ भन्ने गरिन्छ ।

नानी गौरालाई भोलि अमुक्ताभरण सप्तमीका दिन भित्र्याइन्छ भने गौराको मुख्य दिन पर्सी दुर्वाष्टमी अर्थात् अठ्याबालीका दिन व्रतालु महिलाले गौरालाई गौराखलामा लगेर बिरुडाले पूजा गर्नाका साथै आफ्ना श्रीमान्, छोराछोरी र आफन्तको टाउको पूजा गर्छन् ।

पौराणिककालमा हिमालयकी छोरी पार्वतीले भगवान् शिव पति पाउनका लागि गरेको कठोर तपस्याको सम्झनामा गौरापर्व मनाइने गरिन्छ । बैतडीसहित सुदूरपश्चिममा गौरालाई मुख्य चाडको रुपमा लिने गरिन्छ । गौरामा गाउँमा रातभरि ड्यौडा खेल, ठाडो खेल, ढुस्को धमारीलगायत पनि खेल भइरहेका श्रीकोटका गणेश विष्टले बताउनुभयो । यी खेलमा प्राचीन इतिहास, देवीदेवताका गाथा र वीरपुरुषका गाथासमेत समेटिएको पाइन्छ तर अहिले यस्तो संस्कृतिमा युवा पुस्ताको ध्यान गएको पाईदैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button