तपाईँ सुन्दै हुनुहुन्छः

तिलाचौरमा अठ्ठाइस करोड बढीको लगानीमा खानेपानी आयोजना

कञ्चनपुर। भीमदत्त नगरपालिका–८ तिलाचौरमा रु २८ करोड ५० लाखको लागतमा खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाइएको छ । आयोजना निर्माणका लागि नगर विकास कोषबाट रु सात करोड १२ लाख ऋण र रु १९ करोड ९५ लाख रकम सरकारले अनुदानका रुपमा उपलब्ध गराउने गरी निर्माणकार्य अगाडि बढाइएको छ ।

उपभोक्ताको लागत सहभागिताबाट रु एक करोड ४२ लाख रकम सङ्कलन गरिएको समितिका अध्यक्ष करवीरसिंह ऐरले बताउनुभयो । तीन वडाका एक हजार ७३० घरपरिवारमा निजी धारा वितरण लाइन निर्माण गरिनेछन् । खानेपानी आयोजना निर्माणकार्य पूरा भएपछि नगरपालिकाका वडा नं ८, ६ र उक्त घरधुरीका १० हजार बासिन्दा लाभान्वित हुने नगरप्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । अठार महीनाभित्र सम्पन्न हुने आयोजना निर्माणकार्य दुई साताभित्रै सञ्चालन गरिने उहाँले बताउनुभयो ।

आयोजनाका लागि उपभोक्ताबाट पाँच प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत ऋण र बाँकी ७० प्रतिशत सरकारको अनुदान छ । बीस वर्षे अवधिका लागि डिजाइन गरिएको सो आयोजनाबाट सन् २०३९ मा २१ हजार बासिन्दा खानेपानी सेवाबाट लाभावान्वित हुने अनुमान गरिएको छ ।

वडावडामा सौर्यबत्ती

शुक्लाफाँटा नगरपालिकाले वडावडामा सौर्य ऊर्जा जडानकार्य अगाडि बढाउन थालेको छ । सौर्य ऊर्जामा आधारित बत्ती र सिँचाइका लागि सौर्य पम्प जडान गर्न रु ६३ लाख रकम विनियोजन गरी काम अगाडि बढाइएको छ । वडाको माग र आवश्यकताका आधारमा बजेट बाँडफाँड गरी काम अगाडि बढाइएको नगरपालिकाको ऊर्जा समितिका संयोजक कमल गिरीले बताउनुभयो ।

वडाध्यक्षहरुसँग लामो छलफल गरी सहमति गर्ने प्रयास गरिए पनि सहमति हुन नसकेपछि आवश्यकताका आधारमा बजेट बाँडफाँड गरिएको उहाँले जानकारी दिनुभयो । गत आवमा नगरपालिकाले गोबरग्यास प्लान्ट निर्माण र सौर्यबत्ती जडानकै लागि रु १२ लाख बजेट खर्च गरेको छ । ऊर्जा शाखाका कर्मचारी सुरेन्द्र भट्टका अनुसार रु सात लाख रकम खर्चेर ४७ बायोग्यास प्लान्ट निर्माणका लागि अनुदान रकम दिइएको थियो । गोबरग्याँस प्लान्ट निर्माण गर्ने बासिन्दालाई प्रतिप्लान्ट रु १४ हजार ४०० का दरले अनुदानको रकम दिइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button