तपाईँ सुन्दै हुनुहुन्छः

गोठ निर्माणसहित बाख्रा वितरण

रुकुमपूर्व-भुमे गाउँपालिका–२ गाबाङका किसानलाई गोठ निर्माणसँगै उन्नतजातका बाख्रा वितरण गरिएको छ । गाबाङका सात घरपरिवारलाई व्यावसायिक बनाउन गोठ निर्माणसँगै छ÷छ उन्नतजातका बाख्रा वितरण गरिएको हो । जलवायु अनुकूलन तथा ज्ञान व्यवस्थापन कार्यक्रमअन्तर्गत कृषकलाई बाख्रा वितरण गरिएको बताइएको छ ।

युनाइटेड मिसन टु रुकुम क्लस्टर (युएमएन) को आर्थिक सहयोग र नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) को प्रविधिक सहयोगमा बाख्रा वितरण गारिएको हो । गाबाङका विपन्न परिवार, महिला, व्यवसाय गर्न इच्छुक तथा बाख्रापालन व्यवसायसम्बन्धी तालीम लिएका सात घरपरिवार छनोट गरी प्रत्येक घरपरिवारलाई गोठ निर्माण गरिदिएको र छ÷छ वटाका दरले बाख्रा वितरण गरिएको मिक नेपालका अध्यक्ष भिउमान घर्तीले बताउनुभयो ।

उनीहरुको आयआर्जनलाई बढाई जीवनयापनमा सहज बनाउने उद्देश्यले अनुदानमा गोठ निर्माणसहित बाख्रा वितरण गरिएको उहाँले बताउनुभयो । एक महीनाअघि नै ४० सम्म बाख्रा अटाउन सक्ने गोठ तयार बनाइसकेको मिक नेपालले जनाएको छ । प्रत्येक गोठ निर्माणका लागि रु ५४ हजार र बाख्रा खरीदका लागि रु ५० हजार खर्च भएको छ । एक घरलाई रु एक लाख चार हजार बराबरको लगानी गरिएको छ ।

अनुदानमा गोठ निर्मानसँगै बाख्रा पाएपछि कृषक हर्षित भएका छन् । आफूहरुमाथि गरिएको यो लगानीलाई खेर जान नदिने उनीहरुले बताएका छन् । जिल्लामा खसीबोकाको मासुको माग बढ्दै गइरहेका बेला बाख्रापालन व्यवसायबाट राम्रो लाभ लिन सकिने मिक नेपालका अध्यक्ष घर्तीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button