तपाईँ सुन्दै हुनुहुन्छः

‘सबै प्रदेशमा विशिष्टिकृत अस्पताल विकास गर्ने तयारी’

तुलसी सापकोटा । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सवै प्रदेशमा एक–एक वटा विशिष्टिकृत अस्पताल विकास गर्ने गरी काम भैरहेको बताउनु भएको छ ।

प्रतिनिधि सभामा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा मन्त्री उपप्रधानमन्त्री यादवले देशमा रहेका ठूला साना अस्पतालहरुको वर्गीकरण गरेर सेवा विस्तारको काम भैरहेको जानकारी गराउनु भयो ।

उपप्रधान मन्त्री यादवले नेपालमा धेरै रोगको उपचार सम्भव छ र भैरहेको पनि छ भन्नुहुँदै केही विशेष रोगको भने बाहिर जाने गरिएको र प्रधानमन्त्रीलाई डाक्टरकै सल्लाह अनुसार बाहिर उपचार गर्नुपर्ने भएकाले उहाँ फेरि बाहिर जाने तयारीमा रहनुभएको स्पष्ट पार्नुभयो ।

यसैगरी बैठकमा प्रश्नोत्तर कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधानमा भएको व्यवस्था अनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्ने काम सम्पन्न गरिएको जानकारी दिनु भयो ।

मन्त्री पण्डितले संघ, प्रदेश र स्थानीय तहमा समायोजनमा भएका कर्मचारीहरुको नियुक्तिका समयमा कायम रहेको सेवा सुविधा नघट्ने र वृत्ति विकास पनि नरोकिने गरी समायोजन गरिएको स्पष्ट पार्नु भयो ।

यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले अविरल वर्षाको कारण भत्किएका पुल, कलभर्ट र सडकै छिटो मर्मत गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

बैठकमा सांसदहरुले कलंकी नागढुङ्गा र जोरपाटीको सडक स्तारोन्नति हुन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसदहरुले त्रिविका पदाधिकारी नियुक्तिमा भाग बण्डाको राजनीति अन्त्य गरेर प्राज्ञिक र जेष्ठताका आधारमा गर्नु पर्नेमा पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सासंदहरुले बर्दघाट–हेटौडा विद्युत प्रसारण लाईन बस्ती भएर लैजाँदा स्थानीयलाई अन्याय हुने, आर्सनीक मिसिएको पानी र खानेकुराबाट लाग्ने रोग नियन्त्रण गर्नु पर्ने लगायतका विषयमा समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसदहरुले दशगजा क्षेत्रमा भारतीय पक्षले बाँध निर्माण गरेका कारण स्थानीयलाई हिडडुल गर्न तथा खेती गर्न समेत अप्ठेरो परेको भन्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button