तपाईँ सुन्दै हुनुहुन्छः

गाँउपालिकाको विकासका लागि पञ्चवर्षीय योजना

कञ्चनपुर-यहाँका दुई गाउँपालिकाले योजनाबद्धरूपमा विकासका काम अगाडि बढाउन प्रथम पञ्चवर्षीय आवधिक योजना निर्माण गरेका छन् । लालझाडी र बेलडाँडी गाउँपालिकाले एनएलआर नामक संस्थाको सहयोगमा पञ्चवर्षीय आवधिक योजना निर्माणको काम गरेको हो ।

वार्षिक योजना प्रक्रियामा मार्गदर्शन गर्ने, क्षेत्रगत रणनीतिक योजना तथा महत्वपूर्ण विकास प्राथमिकता प्राप्त कार्यक्रम तर्जुमा गर्ने, आवश्यकताका आधारमा स्रोत वितरण र परिचालनको अवस्था सुनिश्चित गर्ने उद्देश्यका साथ आवधिक योजना निर्माण गरिएको छ । उपलब्ध स्रोत र आवश्यक स्रोतको विश्लेषण गरी आन्तरिक तथा बाह्य स्रोत व्यवस्थापनमा सहजीकरण गर्ने, विकास साझेदार तथा निजी क्षेत्रको लगानी र स्रोत परिचालन गर्ने आधार दस्तावेजका रुपमा पञ्चवर्षीय योजनालाई अघि सारिएको छ ।

पञ्चवर्षीय योजना तर्जुमा गर्दा आवधिक योजना जनता केन्द्रित, उत्पादन वृद्धि, आयआर्जन, रोजगार सिर्जना, वातावरण संरक्षण, समाजवादउन्मुख, समाजवादी नमूना, आधारभूत आवश्यकताको परिपूर्ति, आत्मसम्मानको सुनिश्चितता गर्ने समावेशी विकास, सन्तुलित तथा दु्रत विकास, दिगो विकास लक्ष्यको स्थानीयकरण र राष्ट्रिय विकास लक्ष्यमा समानजस्यता कायम गर्ने गरी निर्माण गरिएको योजना निर्माणमा संलग्न एनएलआर संस्थाको साझेदार संस्था एनएनएसडब्लुएका कार्यक्रम निर्देशक राजीव अवस्थीले बताउनुभयो ।

उहाँका अनुसार आवधिक योजनामा आर्थिक विकास क्षेत्रका योजना, सामाजिक क्षेत्रका योजनासँगै भौतिक पूर्वाधार, सुशासनलगायत समेटिएका छन् । पञ्चवर्षीय योजना तर्जुमा गर्दा नेपालको संविधान, विद्यमान ऐन, नीति नियम र दिगो विकासका लक्ष्यलगायतलाई समेत आधारका रुपमा लिइएको छ । योजना निर्देशक समिति, विषयगत उपसमिति, गाउँपालिकास्तरीय गोष्ठी, पाश्र्चवचित्रको पुनरावलोकन तथा विश्लेषण र राजनीतिक दलका घोषणापत्र, स्थलगत सर्वेक्षणलगायतका आधारमा तयार गरिएको छ ।

दुवै गाउँपालिकाको आवधिक योजनामा भूमिहीन अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउने र स्थानीय कला संस्कृति जगेर्ना गर्दै पर्यावरणीय पर्यटन प्रवद्र्धनमा जोड दिने कुरालाई समेत स्थान दिइएको छ । विसं २०७६ देखि २०८१ सम्म सञ्चालन हुने योजनाअनुरुप उपलब्ध स्रोत तथा साधनहरु, मानव संसाधन परिचालन एवं प्रविधिको उच्चतम सदुपयोग गरी पर्यटन प्रवद्र्धन, वैज्ञानिक कृषि व्यावसाय, सुशासन, गरीबी निवारण एवं समावेशी विकाससहितको समृद्ध तथा दुवै गाउँपालिका नमूना गाउँपालिकामा रुपान्तरण हुने विश्वास लिइएको छ ।

आवधिक योजनामा कृषि, पशुपालन, समावेशी शिक्षा, प्राविधिक शिक्षा, स्वास्थ्य सरसफाइ, पोषण, खाद्य सुरक्षा, आन्तरिक राजश्व वृद्धि, पर्यटन प्रवद्र्धन, घरबास, समावेशी विकास, सूचना प्रविधि तथा सञ्चार, यातायात व्यवस्थापन तथा सडक सञ्जाल स्तरोन्नतिकरण, शुद्ध पेयजल, ऊर्जालगायतका कार्यलाई विकास प्राथमिकताका क्षेत्र निर्धारण गरिएको लालझाडीका अध्यक्ष मदनसेन वडायकले बताउनुभयो । उहाँका अनुसार नदी नियन्त्रण तथा उपयोग, भूमि व्यवस्थापनसँगै सुकुम्वासी, नदी विस्थापित र आरक्ष विस्थापितको व्यवस्थापन तथा संस्कृति जगेर्ना र जनजासत सङ्ग्रहालय निर्माणकार्यलाई विकासका प्राथमिक क्षेत्रका रूपमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button