तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली धावक गुरुङलाई तेस्रो स्वर्ण

अजय बम । चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेश गुरुङले तेस्रो स्वर्ण जितेका छन् ।

सिंगापुर पुलिस फोर्समा कार्यरत उनले आफूले भाग लिएका तीन वटै विधामा स्वर्ण जित्ने क्रममा आइतबार १० हजार मिटर दौडमा पनि स्वर्ण जितेका हुन् । प्रतिस्पर्धामा विभिन्न देशका ५५ खेलाडीले भाग लिएका थिए ।

निमेशले निर्धारित दूरी ३१ मिनेट १७ सेकेन्डमा पार गर्दै स्वर्ण जितेका हुन् । उनले चीन र भारतका खेलाडीलाई पछि पारेका थिए । दोस्रो भएका रेलवे पुलिस चीनका जेनुफेङ दाईले ३१ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेका थिए ।

भारतीय राष्ट्रिय पुलिसका गोभा रामले ३२ मिनेट २१ सेकेन्डमा दौड पूरा गरेर कास्य पदक हात पारे ।

सिंगापुर पुलिस फोर्समा कार्यरत भए पनि निमेश नेपाली पासपोर्ट बोक्छन् । जसकारण पदक तालिकामा उनको परिचय नेपाली भनेर उल्लेख गरिएको छ ।

उनले गत आइतबार भएको १० हजार मिटरको क्रस कन्ट्री इभेन्टमा पनि स्वर्ण जितेका थिए । सो प्रतिस्पर्धामा उनले भारत र चीनका खेलाडीलाई पछि पारेका थिए ।

त्यसअघि उनले हाफ म्याराथनमा १ घन्टा ९ मिनेट २६ मिनेटमा निर्धारित दूरी पार गरेर स्वर्ण जितेका थिए ।

पुलिस फायर गेम्समा विश्वभरका प्रहरीमा कार्यरत खेलाडीहरुको प्रतिस्पर्धा हुने गरेको छ । सन् १९८५ मा अमेरिकाबाट सुरु भएको प्रतियोगिताको चीनमा १८ औं संस्करण भइरहेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button