तपाईँ सुन्दै हुनुहुन्छः

छिन्नमस्ताको आय–व्यय सार्वजनिक

सप्तरी-मुलुककै प्रसिद्ध छिन्नमस्ता शक्तिपीठको दुई वर्षको आय–व्यय शनिबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । छिन्नमस्ता भगवती संरक्षण संवद्र्धन समितिले आर्थिक वर्ष २०७४÷७५ मा रु एक करोड ३९ लाख ४९ हजार ९२० को आय–व्यय सार्वजनिक गरेको छ भने आर्थिक वर्ष २०७५÷७६ को रु एक करोड ३६ लाख ४३ हजार ८९० को आय–व्यय सार्वजनिक गरेको छ ।

समितिका सचिव भोगेन्द्र झाले प्रस्तुत गर्नुभएको आय–व्यय प्रतिवेदनमा तत्कालीन पदाधिकारीहरुको जिम्मामा रहेको रकम असुल हुन नसकेको उल्लेख छ । लेखा प्रतिवेदनले समेत रु एक लाख १० हजार ३६० फछ्र्योट नभएको र फछ्र्योटतर्फ समितिले ध्यान पनि नदिएको भन्दै अविलम्ब बेरुजु फछ्र्योट गर्नुपर्ने उल्लेख गरेको छ ।

तत्कालीन कोषाध्यक्ष विजय यादवबाट रु ७५ हजार, उपाध्यक्ष शङ्कर मण्डलबाट रु २१ हजार, सचिव बाबुनारायण मण्डलबाट रु छ हजार ७४५ र कर्मचारी सन्तोष शर्माबाट रु चार लाख ९५ हजार ३४९ दाखिला हुनुपर्ने प्रतिवेदनमा जनाइएको छ । पेश्की रकम रु तीन लाख ३९ हजार २१८ फछ्र्योटतर्फ कार्यवाही गर्न लेखा प्रतिवेदनले समितिलाई सचेत गराएको छ । सार्वजनिक गरिएको प्रतिवेदनअनुसार पर्यटन बोर्डबाट रु ३० लाख, बली प्रदानवापत रु १९ लाख ७५ हजार ६८०, सपिङ कम्पलेक्सबाट रु १४ लाख ६३ हजार ५०, मोटरसाइकल पूजाबाट रु पाँच लाख ८८ हजार ६२६, दानपेटीबाट रु चार लाख ११ हजार ५२ प्राप्त भएको छ ।

समितिले विभिन्न व्यक्तिहरुले चढाएको सुन, चाँदी र पितल सुरक्षित साथ राखिएको समितिका कार्यवाहक अध्यक्ष तथा पिठाधीश महाकान्त ठाकुरले बताउनुभयो । कार्यक्रममा सहभागी स्थानीय तेजनारायण यादव, शिवशङ्कर ठाकुर, प्रभुनारायण यादव, रामचन्द्र चौधरीलगायत सञ्चारकर्मीले मन्दिरको सार्वजनिक सम्पत्तिलाई व्यक्तिगत बनाएको, टिकेअध्यक्ष र समिति बनाएर भ्रष्टाचारलाई संस्थागत गरेको भन्दै चर्को विरोध गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button