तपाईँ सुन्दै हुनुहुन्छः

खर्च नभएको एक अर्ब ३८ करोड रकम फिर्ता

सङ्घीय सरकारले गत आर्थिक वर्ष २०७५÷७६ मा मकवानपुरका विभिन्न कार्यालय र स्थानीय तहमा पठाएको एकीकृत विनियोजनतर्फको रु एक अर्ब ३८ करोड ४४ लाख फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) मकवानपुरका अनुसार जिल्लामा पठाइएको विनियोजन खर्चबापतको रु १४ अर्ब १४ करोड ९१ लाखमध्ये रु १२ अर्ब ७६ करोड ४६ लाख मात्र खर्च भएको कारण बाँकी रकम फिर्ता भएकोे हो ।

कोलेनिकाका अनुसार डिभिजन सडक कार्यालय हेटौँडाको बजेट सबैभन्दा बढी रकम फ्रिज भएको छ । कार्यालयको लागि सरकारले रु ९७ करोड ७८ लाख ९५ हजार छुट्याएकामा रु ३५ करोड ९६ लाख ६३ हजार खर्च हुन नसकेको हो ।

त्यस्तै सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको लागि छुट्याइएको रु एक अर्ब ३६ करोड ९४ लाख ६५ हजारमध्ये ३० करोड तीन लाख खर्च हुन नसकी फ्रिज भएको कोलेनिकाका कोष नियन्त्रक प्रमोद मैनालीले बताउनुभयो ।

उहाँको अनुसार जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षातर्फको पनि एक करोड १५ लाख रुपैयाँ बजेट फिर्ता गएको छ । कोष नियन्त्रक मैनालीले शिक्षाको भवन पुनःनिर्माणको लागि ४७ करोड ४६ लाख रुपैयाँ छुट्याइएका बताउनुभयोे । मकवानपुरका १० वटा स्थानीय तहमा पठाइएको एकीकृत विनियोजन खर्चतर्फको करीब रु छ करोड फ्रिज भएको छ ।

सबै स्थानीय तहमा गरी ७४ करोड ६९ लाख ६० हजार पठाइएकामा ६ करोड ८ लाख १९ हजार रुपैयाँ खर्च हुन नसकेको उहाँको भनाइ छ । स्थानीय तहहरुले एकीकृत विनियोजन खर्चतर्फको रु ६८ करोड ६१ लाख ४० हजार मात्र खर्च गर्नसकेका हुन् । दश स्थानीय तहमध्ये थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकाले छुट्याइएको सबै रकम खर्च गर्न सफल भएका छन् ।

थाहा नगरपालिकाको रु आठ करोड २१ लाख ७२ हजारमा सबै रकम खर्च भएको हो भने इन्द्रसरोबर गाउँपालिकाको रु दुई करोड लाख सबै खर्च गर्न सफल भएको कोष नियन्त्रक मैनालीले जानकारी दिनुभयो ।

हेटौँडा उपमहानगरपालिकाले पाएको रु २२ करोड ७४ लाख विनियोजन रकममध्ये पाँचलाख ३४ हजार मात्र फिर्ता भएको छ । मनहरि गाउँपालिकाको कुल ६ करोड २९ लाख ४७ हजार एकीकृत विनियोजन रकममध्ये एक करोढ ९६ लाख खर्च हुन नसकी फ्रिज भएको छ । रु चार करोड ५३ लाख ८७ हजार पाएको कैलाश गाउँपालिकाले ३३ लाख ९४ हजार खर्च गर्न सकेन ।

त्यसैगरी विकट गाउँपालिकाको रुपमा रहेको राक्सिराङ गाउँपालिकाले पाएको रु पाँच करोड ७८ लाख १० हजार एकीकृत विनियोजन रकममध्ये रु पाँच करोड ५३ लाख खर्च गरेको छ । मकवानपुरगढी गाउँपालिकाको रु पाँच करोड ७८ लाख ९९ हजारमध्ये रु ९८ लाख ३३ हजार खर्च हुन नसकेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

बागमती गाउँपालिकाको रु पाँच करोड ६१ लाख विनियोजन रकममध्ये २० लाख मात्रै फ्रिज भएको छ भने बकैया गाउँपालिकाको रु आठ करोड ४३ मध्ये एक करोड ८४ लाख रुपैयाँ खर्च हुन नसकेको कार्यालयले जनाएको छ । त्यस्तै भीमफेदी गाउँपालिकाको–४ करोड १६ विनियोजन रकममध्ये रु ४४ लाख ४० लाख भने फ्रिज भएको बताइएको छ ।

यसैबीच सङ्घीय सरकारले स्थानीय तहलाई दिएको वित्तीय हस्तान्तरणतर्फको खर्च नभएको बजेट भने स्थानीय तहहरुले फिर्ता पठाइसकेका छैनन् । केही स्थानीय तहले सशर्त र समपुरक अनुदानको खर्च हुन नसकेको रकम फिर्ता पठाए पनि धेरैले हालसम्म फिर्ता नगरेको कोष नियन्त्रक मैनालीले जानकारी दिनुभयो ।

स्थानीय तहको लेखा परीक्षणपछि मात्रै सशर्त र समपुरक अनुदान रकमको बास्तविक खर्च विवरण आउने मैनालीले बताउनुभयो । मकवानपुरका १० वटा स्थानीय तहलाई सङ्घीय सरकारले रु दुई अर्ब ९९ करोड ४३ लाख वित्तीय हस्तान्तरणबापतको बजेट पठाएकामध्ये रु एक अर्ब १० करोड ३१ लाख बित्तीय समानीकरण वापतको रकम थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button