तपाईँ सुन्दै हुनुहुन्छः

एक हजार चार सय उद्योग दर्ता

सिरहा । सरकारले सहुलियत र बैंक तथा वित्तीय संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गर्ने क्रम ह्वातै बढेको छ ।

जिल्लामा आर्थिक वर्ष २०७५–७६ मा एक हजार ४९१ घरेलु तथा साना उद्योग दर्ता भएको छ । दर्ता गरिएका मध्ये ५५८ कृषिजन्य उद्योग रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिए ।

कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि उद्योग ४०२, पशुपालनका ७८ तथा कुखुरापालनका ६४ नयाँ उद्योग दर्ता भएको छ । आव २०७५र७६ मा उत्पादनमूलक उद्योग १९१, सेवामूलक उद्योग ७४० तथा कृषि तथा वनजन्य ५५८ उद्योग दर्ता भएको छ ।

उक्त संख्या आव २०७४–७५ मा दर्ता भएको भन्दा दोब्बर बढी हो । आव २०७४–७५ मा जिल्लामा ८४२ नयाँ उद्योग दर्ता भएको थियो ।

जिल्लामा उत्पादन उद्योग एक हजार २७९, कृषि तथा वनजन्य उद्योग एक हजार ५८ र सेवा उद्योग तीन हजार १०३ रहेको छ । नयाँ उद्योग दर्ताबाट रु ७५ लाख ८६ हजार राजश्व सङ्कलन भएको यादवले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button