२०७९ साल जेठ १० गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

ग्रामीण भेगमा उत्पादन हुने तरकारीको माग बढ्यो

रेडियो नेपाल २०७६ साउन ३१ गते १८:२८

निशेष राई, झापा । सीमावर्ती नाकाहरुमा भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण हुन थालेयता झापाका बजारहरुमा ग्रामीण भेगमा उत्पादन हुने तरकारीको माग बढेको छ ।

वर्षातका कारण तरकारीको उत्पादनमा समेत कमी भइरहेका बेला बारीमा उत्पादन भएको तरकारीले मुल्य पाउँदा झापासँग सीमा जोडिएका इलामको दक्षिणी भेगका किसान खुसी देखिएका छन् ।

झापासँग सीमा जोडिएको इलामको रोङ, चुलाचुली गाउँपालिकाका किसानले उत्पादन गरेको तरकारीको माग बढी रहेको छ ।

भारतबाट आयात हुने तरकारीको विषादी परीक्षणका कारण रोङ गाउँपालिकामा व्यवसायिक तरकारी खेती गर्ने कृषकको संख्यामा पनि बढ्दै गएको छ । रम्भ्याङ्गका झण्डै ६० परिवार अर्गानिक तरकारी खेती गर्दै आइरहेका छन् ।

हाल काँक्रा, अकबरे खुर्सानी, स्कुस, करेला लगायतका तरकारी उत्पादन गरेर झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा लगेर बिक्री गर्ने गरेका छन् ।

विषादी परीक्षण हुन थालेपछि बजारमा आफुहरुको अर्गानिक उत्पादनले मुल्य पाउन थालेको उनीहरुको भनाई छ ।

सम्बन्धित