तपाईँ सुन्दै हुनुहुन्छः

आज गाईजात्रा पर्व: उपत्यकासँगै देशभर विभिन्न कार्यक्रम गरिदैं

काठमाडौं। काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइँदै छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृतात्माले यमलोक जाँदा बाटोमा पर्ने बैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।

शहरमा गाई पाल्नेहरुले भने साच्चिकै गाईलाई सिंगारेर नगर परिक्रमा गर्छन् भने केहीले जोगीको भेष धारण गरि रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुङ्गाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ । पछिल्लो समयमा मुलुकको राजनीति तथा सामाजिक विसंगतिप्रति व्यंग्य गरेर पनि गाईजात्रा पर्व मनाउन थालिएको छ ।

काठमाडौ उपत्यकामा तत्कालीन राजा प्रताप मल्लकी रानी आफ्नो छोरा चक्रप्रतेन्द्र मल्लको मृत्यु शोकमा डुबेपछि रानीलाई सान्त्वना दिन प्रताप मल्लले शहरमा वर्षभरी कति जनाले आफन्त गुमाए, कतिजनालाई यस्तै शोक र्पयो भनेर देखाउन यो जात्रा निकाल्न थालेको विश्वास छ । काठमाडौं उपत्यकालगायत मुख्य रुपमा नेवार समुदायको बाक्लो वस्ती रहेका शहरहरु बनेपा, धुलिखेल, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौंडा, पोखरा र तानसेनमा पनि यो पर्व मनाइन्छ ।उता, भक्तपुरमा निकालिने गाईजात्राको भने छुट्टै रौनक र आकर्षण छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button