तपाईँ सुन्दै हुनुहुन्छः

‘तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक’

अर्जुन श्रेष्ठ । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले देशका विभिन्न भागमा आउनसक्ने बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद्बाट बच्न तीनै तहका सरकारहरुबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभएको छ ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले २०७६ असारमा अविरल वर्षाका कारण आएको बाढी र डुबानले पुर्याएको क्षतिबारे जानकारी दिन आज सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले नदीको प्राकृतिक बहावलाई व्यवस्थित गर्दै जोखिम न्युनीकरणमा तीनै तहको सरकार एकीकृत रुपमा अघि बढ्नुपर्ने बताउनुभयो ।

मन्त्री पुनले चुरे तथा नदीजन्य समाग्रीको दोहन, अव्यवस्थित बस्ती विकास, र नदीको प्राकृतिक वहावमा अवरोध पुर्याइएका कारण तराईका जिल्लाहरुमा वर्षेनी बाढी र डुबानको समस्या देखिने गरेको बताउनुभयो ।

उहाँले नेपाल–भारत सिमामा नदीको बहावलाई अवरोध पुग्ने गरी भारतीय पक्षले निर्माण गरेको संरचनाका कारण कतिपय स्थानमा डुबान हुने गरेकाले परराष्ट्र मन्त्रालय मार्फत कुटनीतिक समाधान खोजिने बताउनुभयो ।

तराईका जिल्लामा बाढी र डुबानबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा निर्माण गर्न ३८ करोड २२ लाख र दीर्घकालीन कार्यका लागि २ अर्ब ११ करोड २२ लाख आवश्यक रहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button