तपाईँ सुन्दै हुनुहुन्छः

राजकीय सम्मानका साथ दीक्षितको अन्त्येष्टि

काठमाडौँ । वरिष्ठ साहित्यकार स्व। मदनमणि दीक्षितको पशुपति आर्यघाटमा आज अपराह्न अन्त्येष्टि गरिएको छ । उहाँको राष्ट्रिय सम्मानका साथ अन्येष्टि गरिएको हो । नेपाल प्रहरीको एक टुकडीले उहाँलाई राष्ट्रिय सम्मान दिएको थियो ।
स्व। दीक्षितलाई उहाँका छोरा विनोदले दागबत्ती दिनुभएको थियो । उहाँप्रति श्रद्धाञ्जलि दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेल, नेता वामदेव गौतम, नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायत आर्यघाट जानुभएको थियो ।
यसअघि उहाँको शव श्रद्धाञ्जलिका लागि उहाँको निवास कालिकास्थानमा राखिएको थियो । निवासमा श्रद्धाञ्जली व्यक्त गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेपाल काङ्ग्रेसका सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पुग्नु भएको थियो ।
निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना हुनुभएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोश हुनुभएका ९७ वर्षीय दीक्षितलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।
दीक्षितका ‘माधवी’, ‘ऋग्वेद स्ःकेही प्रमुख सुक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति उहाँले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गर्नुभएको थियो । नेपाली पत्रकारिता क्षेत्रमा पनि उहाँको विशिष्ट योगदान छ । उहाँले ‘समीक्षा’, ‘आजकाल’लगायत साप्ताहिक पत्रिका सम्पादन गर्नुभएको थियो । उहाँको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button