तपाईँ सुन्दै हुनुहुन्छः

जनै पूर्णिमाका दिन क्वाँटी खानुको फाईदा यस्ता छन्

काठमाडौं । नौ प्रकारका गेडागुडीबाट साना जरा (टुसा उम्रेर) निस्केर टुसाउने प्रकृयालाई क्वाँटी भनिन्छ। क्वाँटी नेवारी शब्द हो। जसको अर्थ क्वाँ भनेको तातो र टी भनेको तरल पद्धार्थ हुन्छ । क्वाँटी विशेष गरी जनै पूर्णिमाका दिन खाने चलन छ। जनै पूर्णिमाका दिन क्वाँटी खानाले वर्षभरिको चिसोबाट बच्न सकिने कतिपयको बुझाई समेत छ।

यति मात्र नभई जनै पूर्णिमा भन्ने बित्तिकै वर्षा समयको अन्तिम समय भन्ने बुझिन्छ। वर्षा समयमा विशेषगरी बालक र वृद्धालाई हुने चिसोपनाबाट शरीरलाई न्यानोपना प्रप्ता होस् भन्नका लागि यस दिनमा क्वाँटी खाने चलन चलिआएको हो।

क्वाँटी बनाउनका लागि सानो केराउ, बोडी, ठूलो केराउ, भट्मास, चना, सिमी, बकुल्ला, मासगरी नौ वटा गेडागुडीको मिसावट गरी तयार पर्ने गरिन्छ।

क्वाँटी मात्र खाने होइन यस दिन मानिसहरु पूर्व फर्केका नौ वटा धारामा नुहाउने, नौ थरीको लुगा लगाउने समेत गरेको पाइन्छ।

जसका कारण यो पर्वले नौसँग जाडिएका धेरै कुराको महत्व बोकेको संस्कृतिविद् ओम धौभडेलले बताए। उनले भने, ‘लुनार क्यालेण्डर अनुसार यो नौ महिना हो। त्यसकारणले यो पर्वमा नौसँग धेरै कुराहरु जाडिएका छन्।’

यो पर्वमा क्वाँटी खाने चलन परापूर्वकालदेखि नै चलिआएको हो। संकृतिविद् धौभडेलका अनुसार क्वाँटी बनाउनका लागि प्रयोग गरिएका नौ प्रकारका गेडागुडी प्रोटीनले भरिएका हुने गर्छन्।

पहिलाको कुरा गर्ने हो भने चिसोमा रोपाई व्यक्तिहरलाई धेरै तागत चाहिने भएका कारण यीनै प्रोटिन भएका गेडागुडी खाएर शक्ति उत्पादन गर्ने गरिएको उनले बताए।

उनले भने, ‘रोपाइँको समयमा मानिसहरु धेरै रुझेका हुन्छन्। जसका कारण रुघा खोकी लाग्ने, ज्वरो आउने, निमोनिया जस्ता विभिन्न रोगले विशेषगरी बालबालिका र वृद्धलाई बढी छुने गरेका कारण यस्ता रोगहरुबाट बच्नका लागि क्वाँटी खाने चलन सुरु भएको हो।’

क्वाँटीलाई औषधिको रुपमा प्रयाग गरिएको उनको भनाई छ।

उनले थपे, ‘अकालमा कसैको पनि मृत्यु नहोस् भन्ने हेतुले नेवार समुदायमा क्वाँटीलाई औषधिको रुपमा प्रयोग गरिएको हो। अर्को कुरा क्वाँटीमा ज्वानो फुराउने चलन पनि छ। जसले गर्दा लामखुट्टेले टोक्न सक्दै भन्ने धारण मानिसहरुमा छ जुन कुरा क्वाँटीसँगै जोडिएको छ।’

चिकित्सकहरुका अनुसर पनि क्वाँटी अत्यन्तै पोषिलो खाने कुरा हो। यसलाई घरमा बनाएर जुनसुकै समयमा पनि खान सकिन्छ। कुनै पनि समयमा मानिसलाई कमजोर महसुस भएको खण्डमा क्वाँटी खानु उपयुक्त हुने उनीहरुले दाबी गरेका छ।

क्वाँटीलाई पौष्टिक तत्व र संस्कृति दुवैसँग जोडिएको पोषिलो खाने कुरा हो।

क्वाँटीसँग भात चिउरा मिटो नहुने भन्दै संस्कृतिविद् धौभडेलले भने, ‘क्वाँटीसँग रोटी मिठो हुन्छ, रोटी र क्वाँटी, मासु तरकारीको कम्बिनेसन राम्रो हुन्छ। जुन नेवारी बाहेक अन्य समुदायमा पाईँदैन।’

यति मात्र नभएर क्वाँटी खाँदा स्वास्थ्य अनेक फाइदा पुग्ने चिकित्सकहरुको बुझाई छ। क्वाँटी खाँदा हुने केही फाइदाहरु यस्ता रहेका छन्।

–कब्जियत हटाउँनुका साथै पाचनशक्तिमा सुधार गर्ने
–उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग
–कोलेस्टेरोल नियन्त्रण गर्न सहयोग
–शारीरिक र मानसिक स्वास्थ्यमा सुधार
–रोग प्रतिरोधात्मक शक्ति बढाउँने
–स्मरणशक्ति वृद्धि
–मानसिक स्वास्थ्यमा सुधार
–रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा
–बच्चाहरूको वृद्धि विकासमा सहयोग
–पौष्टिक तत्व प्रयाप्त मात्रामा पाइने भएकाले सौन्दर्यमा पनि निखार

प्रतिक्रिया राख्नुहोस्

Back to top button