तपाईँ सुन्दै हुनुहुन्छः

‘केही महिनामा विमानस्थलमा उल्लेखनीय काम’

सुरेन्द्रमणि त्रिपाठी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले अबको केही महिनाभित्र देशको एकमात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केही उल्लेखनीय परिवर्तनको आभाष हुने गरी काम भईरहेको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शले आज काठमाडौंमा आयोजना गरेको नेपालको पर्यटन विकाससम्बन्धी अन्तरक्रिया कार्यक्रममा पर्यटन मन्त्री भट्टराईले आगामी डिसेम्बर महिनासम्ममा गौतम बुद्ध क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको काम पूरा गर्ने गरी काम अगाडी बढिरहको जानकारी गराउँदै समयमै काम पूरा गर्न सरकारले आवश्यक सहयोग गरिरहेको बताउनुभयो ।

पर्यटन मन्त्री भट्टराईले विमानस्थलमा अवतरणको क्रममा जहाजहरु धेरै होल्डमा बस्नुपरेको कुरा आफ्नो जानकारीमा रहेको र त्यो प्राविधिक कारण भईरहेको भएपनि न्यून गर्नेतर्फ सरकारले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताउनुभयो ।

नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन सरकारसँगै सरोकारवाला निकाय र आम सर्वसाधारणको समेत सहभागिताबाट देशले राम्रो प्रतिफल प्राप्त गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्र लागिरहेको र आगामी दिनमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रुपमा रहने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button