तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले सार्वजनिक सरोकारका विभिन्न विषयमामा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद टेकबहादुर बस्नेतले श्रम ऐन लागू गर्न सरकारको ध्यानाकर्षण गराए । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र राष्ट्रसेवक कर्मचारीको मासिक तलबमा एकरुपता नभएको भन्दै उनले श्रम ऐन अनुसारको मासिक तलब सबैले पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाषर्कण गराए ।

दिलबहादुर महत क्षेत्रीले त्रिवेणी दुम्कीवास सडक खण्ड तत्काल खोल्न सरकारको ध्यानाकर्षण गराए । सांसद दिपक प्रकाश भट्टले पर्यटन बर्ष मनाउने क्रममा सुदुरपश्चिमलाई वेवास्ता गर्न नमिल्ने भन्दै टनकपुर नाका सञ्चालनमा ल्याएर कञ्चनपुरको भीमदत्त र नगरपालिकामा पर्यटन सेवा केन्द्र र सुविधा केन्द्र तत्काल स्थापना गर्न सरकारको ध्यानाकर्षण गराए ।

देवप्रसाद गुरुङले असारमा आएको बाढी पहिरोले लम्जुङ मनाङको बाटोमा पर्ने कयौं पुलहरु बगाएर लगेको र ती पुलहरु अहिलेसम्म बन्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद नविना लामाले त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयका पदाधिकारी चयन गर्दा राजनीतिक भागवण्डा नगरि प्राज्ञिक व्यक्तित्वलाई नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद डाक्टर नारायण खड्काले १८ सय १५को सुगौली सन्धि र १९ सय १५ को शान्ति तथा मैत्री सन्धि लगायत सिमा सन्धि तथा महत्वपूर्ण दस्तावेजहरु हराएको सुन्न आएको भन्दै उनले यस्ता महत्वपूर्ण दस्तावेज हराउनु गम्भीर र संवेदनशील भएको भन्दै सम्बन्धित मन्त्रीहरुलाई दस्तावेज तत्काल खोजी गर्न निर्देशन दिन सभामुखको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button