तपाईँ सुन्दै हुनुहुन्छः

गोरखामा धान ‘जोन’ कार्यक्रम शुरु हुने

गोरखा । गोरखामा चालू आर्थिक वर्ष २०७६–७७ देखि धान ‘जोन’ कार्यक्रम शुरु हुने भएको छ ।

जिल्लामा धान उत्पादन वृद्धि गर्न सङ्घीय सरकार कृषि मन्त्रालयबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धानजोन कार्यक्रम सञ्चालन गर्न लागिएको सो परियोजनाका गोरखा प्रमुख वरिष्ठ कृषि अधिकृत अजय अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रम सञ्चालन गर्न चालू आर्थिक वर्षका लागि कृषि मन्त्रालयमार्फत रु एक करोड २९ लाख ८९ हजार बजेट प्राप्त भएको छ । “कार्यक्रम सञ्चालनका लागि क्षेत्र निर्धारण गर्न बाँकी छ”, उहाँले भन्नुभयो, “प्रस्तावका रूपमा गोरखा नगपालिका, शहिद लखन गाउँपालिका, पालुङटार नगरपालिकालगायत दरौँदी नदी बेसिनलाई आधार बनाइएको छ ।”

परियोजना व्यवस्थापन एकाइबाट गठित कार्यदल गोरखा आई जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा अनुगमन गरेपछि मात्र धान क्षेत्रको पहिचान गरिने छ ।

जिल्लामा ५०० हेक्टर क्षेत्रफलमा कार्यक्रम सञ्चालन हुनेछ । आउँदो एक–दुई हप्ताभित्रै क्षेत्र निर्धारण भइसक्नेछ ।

उहाँले चालू आर्थिक वर्षमा क्षेत्र र योजना तर्जुमा, बाली संरक्षण, आधुनिक कृषि सामग्रीको प्रयोग, माटो सुधार, लाभलागत अध्ययन कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।

त्यस्तै उन्नत प्रविधिको प्रयोगअन्तर्गत मेशिनले धान रोप्ने प्रविधिको प्रयोग, औजार उपकरण वितरण, सौर्य ऊर्जामा आधारित सिँचाइ प्रणालीको विकास गरिनेछ ।

साना सिँचाइ कार्यक्रमअन्तर्गत ४० वटा साना सिँचाइ आयोजना निर्माणका गरिनेछ । क्षेत्र छनोट गर्दा चैते धानको खेती हुने क्षेत्रको पहिचान गरिनेछ ।

यो कार्यक्रमबाट जिल्लाका करीब ७०० किसान लाभान्वित हुनेछन् । तोकिएको क्षेत्रमा वर्णशङ्कर जातको धान खेतीलाई प्राथमिकता दिइनेछ ।

गण्डकी प्रदेशको आठ जिल्लामा यो वर्ष कार्यक्रम थप गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button