तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षामा रुपान्तरणकारी नीति र कानून ल्याइन्छ: अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा क्षेत्रलाई रुपान्तरणका लागि नयाँ नीति र कानून ल्याउने बताउनुभएको छ ।

‘शिक्षालय’ राष्ट्रिय मासिकको १५ औँ ‘एजुकेशन अवार्ड २०७६’ प्रदानपछि अध्यक्ष प्रचण्डले विकसित मुलुकले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएको उदाहरण लिँदै नेपालले पनि शिक्षालाई प्राथमिकता दिई उपयुक्त नीति र कानून ल्याउन आवश्यक भएको बताउनुभएको हो । उहाँले सरकारले विज्ञहरुको सुझावका आधारमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन बुझिसकेको र सङ्घीय शिक्षा ऐनसँगै नयाँ शिक्षा नीति तर्जुमा गर्न खोजेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष दाहालले शिक्षा क्षेत्रमा योगदान दिने विभिन्न व्यक्तिलाई सम्मानित पनि गर्नुभयो । सम्मानित हुनेहरुमा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ शिक्षासेवी रत्नमान गुरुङ, ‘इन्स्पिरेशनल अवार्ड’ सांसद् शान्ता चौधरी, ‘एजुकेशन भिजन अवार्ड’ प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल, ‘स्कुल अफ दी एयर’ सामुदायिकतर्फ सुर्खेतको जनज्योति मावि र निजीतर्फ बुटवलको न्यू होराइजन माविलाई प्रदान गरियो ।

यसैगरी शिक्षा पत्रकारितातर्फ नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र कारोवार दैनिकका गोपाल सङ्ग्रौला, ‘एक्सिलेन्स अवार्ड’ ग्लोबल केलज एण्ड म्यानेजमेन्ट’, ‘गुडविल एचिभमेन्ट अवार्ड’ नवलपरासीको अक्फोर्ड कलेज, ‘प्रिन्सिपल अफ दी एयर’ नाइटिङ्गेल स्कुलका रञ्जना प्रधान, ‘डेडिकेशन अवार्ड’ खगेन्द्र नेपाल र मानबहादुर बुढा, ‘कन्ट्रयुब्युसन अवार्ड’ शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, ‘क्रियटिभ अवार्ड’ एनसिसिएस कलेज, ‘राइजिङ अवार्ड’ समृद्धि एजुकेशन फाउण्डेशन, ‘बेष्ट टिचर अवार्ड’ हनुमन्तेश्वर मावि, दोलखाका गोपालध्वज श्रेष्ठ र रु २५ हजार राशिको चौधरी ग्रुपको ‘वाइवाइ ज्ञान पुरस्कार बुटवलस्थित कालिका मानविज्ञान माविका विद्यार्थी सविना सुवेदीलाई प्रदान गरियो ।

शिक्षालय मासिकका प्रधानसम्पादक श्याम तण्डुकारले यस अवार्डलाई क्रमशः स्थानीय तह हुँदै अन्तर्राष्ट्रियस्तरसम्म विस्तार गरी शिक्षामा रुपान्तरण गर्न चाहनेलाई प्रोत्साहन गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button