तपाईँ सुन्दै हुनुहुन्छः

सडक कालोपत्रे गरेको दुई हप्तामै भत्कियो कालोपत्र

तनहुँको व्यास नगरपालिका–१२ स्थित छाब्दीबाराही जाने बाटो कालोपत्र भएको दुई हप्तामै भत्किएको छ ।

दमौलीदेखि प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही मन्दिरसम्म जाने छाब्दी मार्गमा ट्याक्टरको कारण सडकको केही भाग भत्किएको हो ।

छाब्दी बसपार्क नजीकैको सो सडकमा दुई हप्ताअघि मात्र कालोपत्र गरिएको थियो । तर आलो सडकमै लोड ट्र्याक्टर हिँडाएका कारण सडकको केही भाग भत्किएको छ । खोलाबाट कच्ची बाटो हुँदै सामान बोकेर आएको लोड ट्र्याक्टरको बीचको पाङ्ग्राले सडक किनाराको केही भाग भत्काएको हो ।

गण्डकी प्रदेश सरकारको रु एक करोडको लागतमा सो सडक कालोपत्र गरिएको थियो । भौतिक पूर्वाधार कार्यालय नवलपुरले टेन्डर प्रक्रियामार्फत कालोपत्र गरेको सडकमा ट्र्याक्टर चालकको लापरवाहीले सडक भत्किएपछि स्थानीयवासीले प्रदेश सरकारकै आलोचना गर्न थालेका छन् । तर सडक अनुगमन गर्ने जिम्मेवारी उपभोक्ता समिति र उपभोक्ताहरुको पनि भएको हुँदा सबै दोष प्रदेश सरकारलाई दिनु न्यायोचित नभएको केही स्थानीयवासी बताउँछन् ।

सङ्घीय सरकारको लगानीमा उक्त मार्गमा पहिलो चरणमा व्यास नगरपालिका–१ को
कुन्छाली गाउँदेखि व्यास नगरपालिका–१२ भड्खालासम्मको ८०० मिटर सडकमा पक्की
नालासहित कालोपत्र गरिएको थियो । भड्खालादेखि गौडापहरासम्म दोस्रो खण्डमा व्यास नगरपालिकाको रु दुई करोड र गौडापहरादेखि छाब्दी मन्दिरसम्मको तेस्रो खण्डमा प्रदेश सरकारको रु एक करोड बजेटबाट कालोपत्र गरिएको हो । सङ्घ र प्रदेशको बजेटबाट लगाएको टेन्डरको काम सम्पन्न भइसके पनि नगरपालिकाले लगाएको टेन्डरको भने अझै काम सकिएको छैन ।

सङ्घ र प्रदेशको बजेटबाट कालोपत्र हुने सडकको ठेक्का डायमण्ड कन्सट्रक्शन प्रालि दमौलीले पाएको थियो । व्यास नगरपालिकाको ठेक्का भने जिएस कन्सट्रक्शनले पाएको थियो । उक्त सडक कालोपत्र गर्ने जिम्मा पाएको डायमन्ड प्रालिका प्रोपाइटर आरसी
पौडेलले मुख्य सडकमा जोडिएको शाखा सडकबाट लोड गाडी ट्र्याक्टर जबर्जस्ती
सडकमा लगिँदा सडक भत्किएको बताउनुभयो । भर्खर कालोपत्र गरिएको सडकमा त्यसरी लोड ट्र्याक्टर प्रवेश गराउन नहुने भन्दै उहाँले शाखा सडकभन्दा निर्माण गरिएको सडक
अग्लो बनेको र त्यसमा जबर्जस्ती लोड गरिएको गाडी ल्याउँदा सडक भत्किएको
जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार कार्यालय नवलपुरका प्रमुख लक्ष्मी भण्डारीले सडक कालोपत्रको
गुणस्तरमा कुनै कमजोरी नभए पनि तत्कालै लोड ट्र्याक्टर हिँडाएको कारण सडकमा
क्षति पुगेको बताउनुभयो । यस बारेमा अझ स्थलगत अध्ययनपछि थाहा हुने भन्दै भण्डारीले उक्त कालोपत्रको भुक्तानी भइनसकेको हुँदा गुणस्तरहीन काम भएको भए भुक्तानी रोक्ने जानकारी दिनुभयो ।

छाब्दी मार्ग उपभोक्ता समितिका सचिव निर्मल पण्डितले पनि ट्र्याक्टरकै कारण सडक भत्किएको बताउँदै प्रदेश सरकारलाई दोष दिनुको कुनै औचित्य नभएको बताउनुभयो ।

छाब्दीबाराही गुरुयोजना तयार

व्यास–१४ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही मन्दिरको गुरुयोजना तयार भएको छ । छाब्दीबाराही मन्दिरलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने उद्देश्यसहित गुरुयोजना तयार गरिएको हो ।

छाब्दीबाराही मन्दिरको संरक्षण, वातावरणमैत्री भौतिक पूर्वाधार विकास, धार्मिक तथा ग्रामीण कृषि पर्यटन विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यसहित मन्दिरको गुरुयोजना निर्माण गरिएको छाब्दीबाराही विकास कोषका अध्यक्ष थानबहादुर थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार गुरुयोजनामा धार्मिक तथा सांस्कृतिक सम्पदा, भौतिक अवस्था र जैविक विविधताको संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि, मन्दिर परिसरको सौन्दर्यकीकरण र फोहरमैला व्यवस्थापन सम्बन्धमा आवश्यक प्रवद्र्धनात्मक कार्यक्रम गर्ने प्रस्ताव गरिएको छ । मन्दिर क्षेत्रमा एकीकृत धार्मिक तथा ग्रामीण कृषि पर्यटन, वातावरणमैत्री भौतिक पूर्वाधार निर्माण, मन्दिर क्षेत्रको भौतिक अवस्था, प्राकृतिक वातावरण एवं माछा लगायतका जैविक विविधताको संरक्षण र व्यवस्थापन गर्ने लगायतका कार्यक्रम गुरुयोजनामा प्रस्ताव गरिएको छ ।

गुरुयोजनामा छाब्दीबाराही मन्दिर क्षेत्र संरक्षण, विकास तथा व्यवस्थापन गुरुयोजनाको कार्यान्वयनका लागि सात उद्देश्य, २३ रणनीति र ९४ कार्यक्रम प्रस्ताव गरिएको गुरुयोजना निर्माणका संयोजक एवं पोखरा क्याम्पसका उपप्राध्यापक श्रीकान्त खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिर वरपरको ६२ रोपनी जग्गामा पैदलमार्ग ढुङ्गा बिछ्याउने, बराह खोलामाथि कल्भर्ट निर्माण, वातावरणमैत्री विश्रामस्थल, नागबेली आकारमा पानी बग्ने प्राकृतिक कुलो निर्माण गर्ने प्रस्ताव गुरुयोजनामा समेटिएको छ ।

गुरुयोजनाअनुसार अल्पकालीन तथा दीर्घकालीन कार्यक्रमका लागि रु एक करोड ९६ लाख ४० हजार बजेट आवश्यक पर्दछ । छाब्दीबाराही मन्दिर आउने भक्तजनलाई आकर्षित गर्न मन्दिर परिसरमा १० फिटका मत्स्यदेवीको मूर्ति प्रतिस्थापन गरिसकिएको छ ।

घुमाउने ताल निर्माण

घिरिङ गाउँपालिकाले घुमाउने ताल निर्माणको प्रक्रिया अगाडि बढाएको छ । घिरिङ गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि खोला थुनेर ताल बनाउने तयारी गरेको हो ।

घिरिङ गाउँपालिका–३ मा अवस्थित गोफाखोला थुनेर ताल बनाउन गाउँपालिकाले चालू आव ०७६÷७७ मा रु एक करोड बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष रनबहादुर रानाले जानकारी दिनुभयो । रु तीन करोडभन्दा बढी लागत अनुमान गरिएको ताल निर्माणका लागि गाउँपालिकाले रु तीस लाख विनियोजन गरेको थियो । गत वर्ष विनियोजित बजेटले ताल बनाउने गोफा खोलामा चारैतिरबाट मोटरबाट पु¥याइएको छ ।

“ताल जाने ठाउँमा चारैतिरबाट मोटरबाटो विस्तार सम्पन्न भएको छ”, गाउँपालिका अध्यक्ष रानाले भन्नुभयो, “तालको पहिलो चरणको डिपिआर तयार भयो, दोस्रो चरणको डिपिआरको काम अन्तिम चरणमा पुगेको छ । डिपिआर तयार भएलगत्तै काम शुरु गर्ने तयारी छौँ ।” गाउँपालिकाले खोला वरपरको ४५ रोपनी जग्गा अधिग्रहण गर्नेछ ।

गाउँपालिका अध्यक्ष रानाका अनुसार उक्त जग्गाको प्रति रोपनी रु एक लाखका दरले मुआब्जा दिने सहमति भएको छ । “मुआब्जा दिएपछि जग्गा गाउँपालिकाको हुने र तालबाट हुने आम्दानी गाउँपालिकाले प्रयोग गर्नेछ,” उहाँले भन्नुभयो । ताल करीब ८० रोपनी क्षेत्रफलमा फैलिनेछ । अधिग्रहण बाहेकका जग्गा सार्वजनिक जग्गा रहेको रानाले जानकारी दिनुभयो । शुरु भएको तीन वर्षभित्र ताल निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

घिरिङ गाउँपालिका पर्यटनमा प्रचुर सम्भावना भएर पनि ओझेलमा परेपछि ताल निर्माणसँगै अन्य स्थानहरुको प्रवद्र्धन गर्ने योजनामा गाउँपालिका जुटेको उपाध्यक्ष सरस्वती सिग्देलले बताउनुभयो । उहाँका अनुसार ताल निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरिनेछ ।

घुमाउने ताल नामकरण गरिएको तालको बीचमा मन्दिर बनाउने योजना बनाइएको छ । उपाध्यक्ष सिग्देलले भन्नुभयो, “डुङ्गा चढेर तालको बीचमा रहने मन्दिरमा सर्वसाधारणले दर्शन गर्न सक्नेछन् । उक्त ताललाई पोखराको फेवाताल जस्तै गरी विकास गरिनेछ ।” ताल वरपरको क्षेत्रमा रेष्टुरेन्ट, वनभोजस्थल लगायतका पूर्वाधार निर्माण गरिनेछ ।

घिरिङ गाउँपालिकामा प्राकृतिक पुल, ताले ताल, चौबिसे राज्य अन्तर्गतको घिरिङकोट दरबारलगायत पर्यटकीयस्थल छ । घिरिङकोट दरबारमा भ्यू टावर निर्माण गर्ने योजना गाउँपालिकाले अगाडि सारेको छ । घिरिङकोट दरबारबाट तनहुँका साथै स्याङ्जा, कास्की, पाल्पा, गोरखा, लमजुङका केही भूभाग अवलोकन गर्न सकिन्छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button