तपाईँ सुन्दै हुनुहुन्छः

रुकुमपूर्वमा स्याउखेती फस्टाउँदै

रुकुमपूर्व । केही वर्षअघिसम्म रहरले स्याउ लगाउने रुकुमपूर्वको भूमे गाउँपालिका–१ लुकुमका तीर्थबहादुर पुन अहिले व्यावसायिक कृषक बनेका छन् । उनको बगैंचामा स्याउका करिब तीन सय ५० बिरुवा छन् । ढल्किँदो उमेरमा पनि उहाँलाई स्याउखेतीले उत्तिकै व्यस्त बनाएको छ ।

‘पहिले स्याउ लगाएर मात्र के गर्नु, बिक्री गर्ने ठाउँ हुन्थेन,’ उहाँले भन्नुभयो, “अहिले त ग्राहक घरमै आउँछन् ।” आफ्नै गाउँघरमा स्याउ फलाएर सफलता पाएपछि खुशी हुँदै उहाँले भन्नुभयो, “पहिले जुम्ला जाँदा रुखबाट स्याउ टिपेर खाएको थिए । अहिले त्यो अनुभव घरमै गर्न पाएको छु । ”

स्याउको एउटा बिरुवामा दुई सयभन्दा बढी स्याउका दाना फलेका छन् । गतवर्ष एउटै बोटमा सयभन्दा बढी स्याउको दाना फलेको उहाँले बताउनुभयो । विसं २०६९ मा जुम्लाबाट व्यापारीले बेच्न ल्याएको ३३० वटा बिरुवा किनेर स्याउ खेती शुरु गरेको पुनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले पहिले जुम्ला तथा रोल्पाको विभिन्न ठाउँमा पुग्दा स्याउ फलेको देखेको र अहिले आफ्नै बगैंचामा फलेको स्याउ टिपेर खान पाउँदा निकै खुशी लागेकोे छ ।” “पहिले स्याउ कहाँ पाउँला जस्तो हुन्थ्यो तर, अहिले स्याउ कहाँ लगेर बिक्री गरौं जस्तो भइसक्यो”, उहाँले भन्नुभयो । गत वर्ष स्याउ ढुवानी नभएर कुहिएर गएकोसमेत उहाँले बताउनुभयो ।

सडक लगायत पूर्वाधार र अन्य सुविधा पुगेसँगै रुकुमपूर्वमा पुन र बुढामगरजस्ता थुप्रै स्थानीयवासी स्याउसँग जोडिएका छन् । उनीहरूको आर्थिक हैसियत पनि माथि उठेको छ । प्रदेश सरकारले प्रोत्साहनको नीति लागू गरेपछि परम्परागत रूपमा थोरै स्याउ लगाउने किसान व्यावसायिक खेतीमा लागेका छन् । उत्पादन ह्वात्तै बढेको छ ।

रुकुमपूर्वको उच्च हिमाली क्षेत्रका विभिन्न ठाउँमा लगाएको स्याउमा अहिले राम्रो दाना लागेको छ । यतिबेला जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाको पेल्मा, घुइँवाङ, रल्तिजाङ, हुकाम, मयाङ लगायतको क्षेत्र र भूमे गाउँपालिकाको लुकुम, गुणाम, काँक्री, कोर्जा लगायतको ठाउँमा लगाएको स्याउले राम्रो फल दिन थालेको छ ।

कृषि विज्ञका अनुसार स्याउ मध्यम चिसो र हिमाली भेगमा फल्ने गर्दछ । स्याउ खेतीको लागि मलिलो माटो आवश्यकपर्ने भएकोले त्यस्तो खालको माटो रुकुममा भएको किसान बताउँछन् । रुकुम पूर्वको भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकास्थित विभिन्न ठाउँका नागरिकले जुम्ला, रोल्पाबाट स्याउका बिरुवा किनेर रोपेका छन् । पछिल्लो चरणमा भने स्थानीयस्तरमै स्याउका बिरुवा उत्पादन गर्न थालिएको छ ।

आगामी वर्षमा कलमी गरेर बिरुवा उत्पादन गर्ने सोचमा किसान छन् । परीक्षणकालमै स्याउका बोटले लटरम्म दाना दिन थालेपछि अब व्यावसायिक रुपमा खेती गर्न सकिने किसान बताउँछन् । परीक्षणका क्रममा किसानले प्राविधिकको सल्लाह सुझाव पाउन सकेका छैनन् ।लगाएको दुई तीन वर्षमै अग्लो र त्यसबाट लटरम्म स्याउ फलेपछि किसान पनि उत्साहित छन् । पुथा उत्तरगङ्गा गाउँपालिकाका विभिन्न ठाउँमा पहिलेदेखि नै स्याउखेती गर्दै आए पनि भूमे गाउँपालिकामा भने भर्खरै मात्रामा लगाइएको बताइएको छ । अहिले पुथा उत्तरगङ्गा गाउँपालिकास्थित विभिन्न क्षेत्रका मानिसले दुई सयदेखि एक हजारसम्म स्याउका बोट लगाएका छन् ।

जिल्लाको विभिन्न उच्च क्षेत्रमा व्यावसायिक रुपमा खेती गर्न सकिने भएपछि किसान उत्साहित भएका हुन्् । यहाँ फलेको स्याउको स्वाद पनि हिमाली भेगको जस्तै रहेको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो । विस्तारै स्याउ उत्पादन हुने क्षेत्रको पहिचान गरी गाउँपालिकाबाट किसानलाई सहयोग गर्ने उहाँको भनाइ छ ।

पुथा उत्तरगङ्गा गाउँपालिकाको अधिकांश ठाउँमा स्याउ उत्पादन हुने भएपछि सहकारीमार्फत स्याउ उत्पादनलाई जोड दिने निर्णय गरेको पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले जानकारी दिनुभयो । यसैवर्ष पुथा उत्तरगङ्गा गाउँपालिकाको विभिन्न क्षेत्रमा कृषि सहकारीमार्फत २५ हजार स्याउका बिरुवा लगाउने तयारी भइरहेको सहकारीका अध्यक्ष जीताराज बुढाले बताउनुभयो ।

्अहिले स्याउको बोट लगाउनको लागि खाल्डो तयार पार्ने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । गतवर्ष किसानले उत्पादन गरेको स्याउ कुहिएर गएकोले यसवर्ष भने किसानको दुःखलाई खेर जान नदिने गाउँपालिकाले जनाएको छ । यसवर्ष उत्पादित स्याउलाई ढुवानीको लागि गाउँपालिकाले सहयोग गर्ने गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो ।
–रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button