आर्थिक वर्षभित्र सम्पन्न गर्ने सातवटा प्रसारण लाइन निमार्ण कार्य धमाधम अघि बढ्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने प्रसारण लाइन निमार्णको कार्य धमाधम अघि बढेको छ । यस वर्ष सम्पन्न गर्ने लक्ष्य लिएका मध्ये सातवटाको निमार्ण कार्य ६० प्रतिशतभन्दा बढी भएको छ ।
प्राधिकरणले चालू आर्थिक वर्षमा सम्पन्न गर्ने आयोजनाको सूचीमा विभिन्न नौवटा प्रसारण लाइनलाई समावेश गरेको छ । जसमध्ये सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइन, रामेछाप (गज्र्याङ)–खिम्ती १३२ केभी प्रसारण लाइन, १३२ केभीको सोलुकोरिडोर, १३२ केभीको पूर्वी चितवन सबस्टेसन, त्रिशूली–३ बी सबस्टेसन, चिलिमे–त्रिशूली २२० केभी प्रसाण लाइन, चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइन, त्यस्तै कुसाहा–कटैया १३२ केभी प्रसारण लाइन र रक्सौल–परवनीपुर १३२ केभी प्रसारण लाइनको निमार्ण कार्य २०७६÷७७ मा सम्पन्न गर्ने लक्ष्य लिएको प्राधिकरणले जनाएको छ ।
यस वर्ष निर्माण सम्पन्न हुने आयोजनाको अवस्था हेर्ने हो भने सन्तोषजनक रहेको देखिन्छ । यी आयोजनामध्ये केहीको ८० प्रतिशतभन्दा बढी र केहीको ६० प्रतिशत काम सम्पन्न भएको छ । प्रसारण लाइनहरूको हालसम्मको भौतिक प्रगतिलाई हेर्ने हो भने सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनको १२४ ट्रान्सफर्मरमध्ये ११८ ट्रान्सफर्मरको फाउन्डेसन भइसकेको नेपाल विद्युत् प्रधिकरणका प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभूषण चौधरीले बताए ।
त्यस्तै, २०७३÷७४ मा पिङगाओ ग्रुपअफ कम्पनीसँग टेक्का सम्झौता भएको रामेछाप (गज्र्याङ)–खिम्ती १३२ केभी प्रसारण लाइनको भौतिक प्रगति ६६ प्रतिशत सम्पन्न भएको छ । खिम्ती खोला र लिखु खोलाबाट उल्पादन हुने जम्मा १६० मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । यस आयोजनाको अनुमानित लागत करिब १ अर्ब रहेको आयोजना प्रमुख प्रनिल पराजुलीले बताए ।
१३२ केभीको सोलुकोरिडोरको पनि ३२० ट्रान्सफर्मरमध्ये २०२ ट्रान्सफर्मरको फाउन्डेसन सम्पन्न भएको प्राधिकरणले जनाएको छ । त्यस्तै, १३२ केभीको पूर्वी चितवन सबस्टेसनको ट्रान्सफर्मर निमार्णको काम द्रुत गतिमा अघि बढे पनि ११ र ३३ किलोमिटर सर्भेको काम भने बाँकी रहेको प्राधिकरणले उपकार्यकारी निर्देशक चौधरीले बताए ।
त्रिशुली–३ बी सबस्टेसन १३२ केभी प्रसारण लाइनतर्फ ६० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख थर्कबहादुर थापाले बताए । १ अर्ब ६० करोडको लागत अनुमान गरिएको आयोजनाको चीनको पिङगाओ ग्रुप अफ कम्पनीसँग चालू आर्थिक वर्षमा सम्पन्न हुने गरी २०७४ पुसमा ठेक्का सम्झौता भएकोे हो । आयोजनाबाट रसुवा र नुवाकोटमा उत्पादन हुने ६ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएका छन् ।
२०७५ सालमा सम्पन्न गर्ने लक्ष्य लिएको चिलिमे–त्रिशूली २२० केभी प्रसाण लाइनको समय भने थप गरिएको छ । यो आयोजनाको समय थप गरी २०७६ फागुनमा सक्ने गरी काम अघि बढेको प्रसारण लाइन प्रमुख केदारराज सिलवालले बताए । करिब ३ अर्ब लागतमा सम्पन्न हुने यो आयोजनामा रसुवा र माथिल्लो त्रिशूली बेसिनबाट उत्पादन हुने ५ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।
त्यस्तै, चालू आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य रहेको चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको निमार्ण कार्य ७० प्रतिशत सम्पन्न भएको जनाइएको छ । सिग्माकन प्राइभेट लिमिटेडसँग २०७६ फागुनमा सम्पन्न गर्ने गरी दुई वर्षअघि सुरु गरिएको थियो । यस आयोजनाको लागत करिब ३५ करोड अनुमान गरिएको छ । यो प्रसारण लाइन डबल सर्किटमा सम्पन्न भएपछि बझाङ र दार्चुलाबाट उत्पादन हुने १५० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजना प्रमुख नवराज ओझाले बताए ।
त्यस्तै, कुसाहा–कटैया १३२ केभी प्रसारण लाइन ठेक्का सम्झौता भएर प्रारम्भिक चरणको काम सुरु भएको प्राधिकरणले जनाएको छ । यसै वर्ष सम्पन्न गर्ने लक्ष्य लिएको रक्सौल–परवनीपुर १३२ केभी प्रसारण लाइनको निमार्ण कार्यका लागि भने ठेक्का प्रक्रिया अघि बढेको प्राधिकरणले जनाएको छ ।
यी आयोजना सम्पन्न हुँदा ७८३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने विद्युत् प्राधिकरणका प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक चौधरीले बताए ।
प्रतिक्रिया राख्नुहोस्