तपाईँ सुन्दै हुनुहुन्छः

त्रिशूलीमा बस दुर्घटनाः मृत्यु हुने संख्या ७ पुग्यो

नवराज छत्कुली, धादिङ । धादिङको बेनिघाट रोराङगाउँपालिका ३ स्थित त्रिशूली नदीमा यात्रुबाहक बस खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस आज बिहान दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य हराइरहेका मध्ये ४ जनाको शव भेटिएसँगै मृतकको संख्या ७ पुगेको हो ।

हराइरहेका यात्रु चार जनाको शव चितवनको देवघाट, मुग्लीन, र जुगेडीमा भेटिएको छ ।

मृतकमध्ये सर्लाहीका २५ वर्षीया अजय दास र विजय कुर्मीको सनाखत भएको छ भने अन्य पाँच जनाको सनाखत हुन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइते १६ जनालाई उद्धारपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । बसमा चालक र सहचालक गरी ४५ जना यात्रु रहेको प्रहरीको अनुमान रहेको छ ।

यसैबीच, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले धादिङमा भएको बस दुर्घटना प्रति गहिरो दुःख ब्यक्त गर्नुका साथै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button