तपाईँ सुन्दै हुनुहुन्छः

‘विकास र समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक’

केशव ढुंगाना । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देशको विकास र समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको छ ।

शमी साहित्य प्रतिष्ठानले आज काठमाडौमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले देशको आर्थिक विकास र समृद्धिका लागि सत्ता बाहिर रहेका राजनैतिक दल तथा नागरिक समाजको समेत साथ, सहयोग र प्रतिवद्धता आवश्यक रहेको बताउनुभयो ।

विकास निर्माणका काममा देखिएका ढिलासुस्ती, आर्थिक अनियमितता जस्ता समस्याहरू वर्तमान सरकारका कारण मात्र सिर्जना नभएको स्पष्ट पार्नुहुँदै अध्यक्ष प्रचण्डले त्यसको समाधानका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आर्थिक अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गर्न सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता नेपालले राजनैतिक नेतृत्वले जनताका वास्तविक समस्याहरू पहिचान गरी त्यसको उचित समाधान गर्न नसक्दा जनतामा निराशा बढ्दै गएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको पछिल्लो परिवर्तनलाई संस्थागत गरी सुखी र समृद्ध समाजको निर्माणका लागि सबैले प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button