तपाईँ सुन्दै हुनुहुन्छः

रारा राष्ट्रिय निकुञ्जमा ३८ लाख बढी राजस्व संकलन

बिनोद कुमार मल्ल, मुगु । आर्थिक बर्ष २०७५÷०७६ मा रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले ३८ लाख भन्दा बढी राजस्व संकलन गरेको छ ।

रारा घुम्न आउने आन्तरिक तथा बाह्यि पर्यटकहरुको प्रबेश शुल्क, दण्डजरिवाना, काठ पुर्जी, ढुङ्गा बालुवा गिट्टी र रारातालमा डुङ्गा चलाएको २० प्रतिशत रकम बापत उक्त राजस्व संकलन भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त संरक्षण अधिकृत यज्ञराज रोकायाले जानकारी गराउनु भयो ।

यस आर्थिक बर्षमा ४ सय पैंसठ्ठी जना बिदेशी र कार्तिक देखि यता करिब १२ हजार भन्दा बढी स्वदेशी पर्यटकहरु रारा घुम्न आएको निकुञ्जले जनाएको छ । बिदेशी पर्यटकको लागि रारामा प्रबेश शुल्क पहिले देखि नै लागु गरेको भए पनि आन्तरिक पर्यटकहरुको लागि भने कार्तिक महिना देखि प्रबेश शुल्क लिने ब्यबस्था मिलाईएको थियो ।

गत कार्तिक बाट प्रति ब्यक्ति रु १ सय र बिदेशीको लागि प्रति ब्यक्ति ३ हजार बाट बढाएर ३ हजार ३ सय ९० रुपयाँ तय गरिएको बताईएको छ । यसैगरि सार्क राष्ट्रको सदस्यको लागि प्रबेश शुल्क बापत १ हजार पाँच सय तोकिएको छ ।

गत बर्षको तुलनामा यस बर्ष राजस्व घटेपनि आन्तरिक पर्यटकको प्रबेश शुल्कको ब्यबस्था लागु भएकाले आउँदा बर्षहरु बाट राजस्वमा बृद्घि हुन सक्ने निमित्त संरक्षण अधिकृत रोकायाको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button