तपाईँ सुन्दै हुनुहुन्छः

१३ औं सागको कार्यतालिका तयार

काठमाडौं । काठमाडौं र पोखरामा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि खेलाडीहरुको नाम दर्ता गर्ने मिति तय गरिएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षमा बसेको तयारी समितिको बैठकले आगामी कात्तिक १४ गतेभित्र खेलाडीको नाम दर्ता गराउनुपर्ने समयतालिका सार्वजनिक गरेको हो । यो मितिभित्र सहभागी सबै देशले आ–आफ्ना खेलाडीहरुको नाम, खेल र विधा खुलाएर दर्ता गराईसक्नुपर्नेछ ।

यसैगरी भदौं ७ गतेसम्म टेक्निकल ह्याण्डबुक तयार गर्ने तथा असोज १३ गतेसम्म सबै सहभागी देशहरुले खेल्ने खेल चयन गरिसक्नुपर्ने समयतालिका बनाइएको छ । नेपालले यही मंसिर १५ गतेदेखि १३ औं साग आयोजना गर्ने तयारी गरिरहेको छ ।

यसैबीच भारतले १३ औं सागमा सहभागी हुनेबारे लिखित पत्र पठाएको छ । यसअघि भारत र पाकिस्तानको सहभागितामाथि आशंका गरिएको थियो ।

तर, हिजो तयारी समितिको बैठकमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले सागमा सहभागी हुन भारतले लिखित प्रतिबद्धता पठाएको जानकारी गराएसँगै यसबारेको अन्यौल हटेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button