तपाईँ सुन्दै हुनुहुन्छः

परिवारलाई आर्थिक सहयोग

भोजपुर-भोजपुर जिल्लामा पहिरोमा ज्यान गुमाएका परिवारले प्रतिमृतक रु एक लाख पाउने भएका छन् । बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रतिमृतक रु एक लाख दिने निर्णय गरेको हो । असार २६ गतेबाट परेको अविरल वर्षाका कारण पहिरोमा परी ज्यान गुमाएका मृतक पाँच जनाका परिवारलाई रु एक÷एक लाख उपलब्ध गराउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले प्रदेश नं १ सरकारले मृतकका लागि उपलब्ध गराउने रु दुई लाख र घाइतेका लागि उपलब्ध गराउने औषधि उपचार खर्चका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । पहिरोमा परी भोजपुरमा पाँचको ज्यान गएको थियो ।

वर्षापछिको पहिरोमा रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङका स्थानीयवासी कुमार राईकी ३५ वर्षीया श्रीमती मनकुमारी राई, १७ वर्षीय छोरा शिवकुमार राई १५ वर्षीय छोरा शक्तिकुमार राई र सोही गाउँपालिका–७ बासिखखोराका जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका–९ लेखर्क ओइराङका १४ वर्षीय बालक जनक विकको ज्यान गएको थियो ।

त्यस्तै बैठकले वर्षाका कारण बाढीपहिरोबाट भएको क्षति एवं विस्थापित परिवारको यथार्थ विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा उपलब्ध गराउन सबै स्थानीय तहमा अनुरोध गर्ने निर्णय गरेको छ भने जिल्लाभर १०० परिवार विस्थापित भएको प्रारम्भिक विवरण रहेको जानकारी गराएको छ । विस्थापितको विवरण प्राप्त गरी निश्चित कार्ययोजनासहित पुनःस्थापनको व्यवस्था गर्न स्थानीय विपद् व्यवस्थापन समिति र आवश्यक सहयोगका लागि प्रदेश विपद् व्यवस्थापनमा अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button