तपाईँ सुन्दै हुनुहुन्छः

चार हजारलाई नागरिकता

हेटौँडा-जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका दुर्गम तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने चार हजार ३७३ व्यक्तिलाई उनीहरुको पायक पर्ने ठाउँमा पुगेर नागरिकता प्रदान गरेको छ । कार्यालयको घरदैलो सेवाअन्तर्गत एक वर्षभित्रमा सञ्चालित घुम्ती शिविरमार्फत सो परिमाणमा नागरिकता प्रदान गरिएको हो ।

स्थानीय तह तथा स्थानीय प्रशासनको सहकार्यमा नागरिकता शिविरमार्फत महिला, किशोरकिशोरी, वृद्धवृद्धा अशक्त, आर्थिकरूपमा विपन्न तथा पछाडि पारिएका समुदायलाई नागरिकता प्रदान गरिएको कार्यालयले जनाएको छ । कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार सेवा लिनेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी छ । शिविरमा दुई हजार ७२१ महिला र एक हजार ६५२ पुरुषले नागरिकता लिएका हुन् ।

आर्थिक वर्ष २०७५÷७६ मा विभिन्न ग्रामीण तथा दुर्गम क्षेत्रमा १२ पटक शिविर गरी नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा १६ हजार ६५९ नयाँ नागरिकता वितरण गरेको तथ्याङ्क छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार कार्यालयले एक वर्षको अवधिमा वंशजका आधारमा १६ हजार ६१३ लाई नयाँ नागरिकता वितरण गरेको हो ।

वंशजका आधारमा नागरिकता प्राप्त गर्नेमा पुरुष सात हजार १९ र महिला नौ हजार ५९४ छन् । यसैगरी वैवाहिक अङ्गीकृत नागरिकता १६ ले प्राप्त गरेका छन् भने ३० जनाले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका छन् । मकवानपुरमा गत वर्ष सात हजार ६८६ प्रतिलिपि नागरिकता वितरण गरिएको प्रजिअ तामाङले जानकारी दिनुभयो ।

सेवाप्रवाहलाई जनताको घरदैलोसम्म पु¥याउने उद्देश्यले कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा विभिन्न मितिमा नागरिकता वितरण घुम्ती शिविर सञ्चालन गरिएको उहाँले जनाउनुभयो । जिल्लामा शान्ति सुरक्षाको विश्वसनीय र भरपर्दो सुरक्षा व्यवस्था मिलाई नागरिकको शान्ति, सुरक्षा र अमनचैनको व्यवस्था पूर्णरूपमा मिलाइएको, जिल्लाको सुरक्षामा एकीकृत रणनीतिक सुरक्षा योजना तयार गरिएको र त्यसअनुसार काम गरिएको प्रजिअ तामाङले बताउनुभयो ।

जिल्ला सुरक्षा समितिको बैठकलाई गतिशील, नतिजामुखी र प्रभावकारी बनाउँदै जिल्ला सुरक्षा समितिको बैठक ३३ पटक स्पष्ट एजेण्डासहित सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । मकवानपुर क्षेत्रमा पर्ने राजमार्गलाई निर्वाधरूपमा सञ्चालन हुने व्यवस्था मिलाउँदै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको नियमितरूपमा निरीक्षण गरिएको उहाँको भनाइ छ । गुण्डागर्दी, सङ्गठित अपराध, जबर्जस्ती असुली, महिला हिंसालगायतका अपराधलाई नियन्त्रणमा महत्वपूर्ण काम भएको प्रजिअ तामाङको जिकिर छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button