तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल गठन

भुषण पोखरेल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल गठन गरेको छ ।

आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमका विभिन्न पक्षहरुको वर्तमान अवस्था, समस्या र सुधारका उपाय समेत पहिचान गरी सुझाव सहितको प्रतिवेदन तथा सुझावहरु कार्यान्वयन कार्ययोजना समेत पेश गर्न कार्यदल गठन गरेको जानकारी दिनुभयो ।

नेपाल सरकारका पूर्वसचिव सुशील घिमिरेको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलका सदस्यहरुमा चार्टर एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रकाश पौडेल तथा क्याप्टेन सुधीरशम्शेर राई र सदस्य–सचिवमा बुद्धिसागर लामिछाने रहनुभएको छ ।

पत्रकार सम्मेलनमा पर्यटनमन्त्री भट्टराईले नेपाल वायुसेवा निगमका अध्यक्ष लगायत प्राविधिकहरुलाई निगमको साख बचाउन र निगमको खस्कँदो अवस्थालाई सुधार गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

आरोहणका क्रममा जाने सम्पर्क अधिकृत सम्बन्धित स्थानमा नगएका कारण विभिन्न घटना भएको सुन्नमा आएको उल्लेख गर्दै पर्यटनमन्त्री भट्टराईले त्यस्ता गतिविधिमा लाग्नेलाई कारवाही गर्ने स्पष्ट गर्नुभयो ।

उहाँले भुकम्पपछि २ सय ७८ वटा विभिन्न सम्पदा पुननिर्माण भइसकेको दिँदै बुद्धिष्ट सर्किटको डिपिआर बनाउने प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।

पर्यटनमन्त्री भट्टराईले नेपालमा पर्यटन सम्बन्धी अध्ययन गर्ने प्रतिष्ठान र पाइलट अध्ययन गर्ने बिद्यालय सञ्चालन गरिने पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button