तपाईँ सुन्दै हुनुहुन्छः

आज चट्याङ र भारी वर्षाको सम्भावना, होसियारी अपनाउनू : मौसमविद्

काठमाडौं । आज (बुधबार) देशका विभिन्न स्थानमा चट्याङ तथा भारी वर्षाको सम्भावना उल्लेख गर्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । भारी वर्षाका कारण मध्य र पूर्वी क्षेत्रमा पहिरो जाने तथा भूक्षयसमेत हुने जोखिम रहेकाले यातायात अवरुद्ध हुने सम्भावना देखिएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले आज बिहान जारी गरेको २४ घण्टे चेतावनी तथा परामर्शमा भनिएको छ– देशको केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने चट्याङ पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिन्छ । मध्य र पूर्वी नेपालका एकरदुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ । जसले गर्दा सडक यातायातमा पहिरो र भू–क्षयका कारण अवरोध आउन सक्छ । तसर्थ यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिन्छ ।

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार तीन दिनयता मनसुन न्यून चापीय रेखा (पानी पार्ने प्रणाली) आफ्नो औसत स्थान (दक्षिण भारत)बाट केही उत्तर नेपालतर्फ सरेकाले यहाँ मनसुनी गतिविधि बढेको हो ।

हेरौं मौसम पूर्वानुमान महाशाखाको बुलेटिन :

मौसम विश्लेषण 

मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तर (नेपाल) तर्फ सरेको छ । साथै पूर्वी र मध्य नेपालमा एउटा न्यून चापीय क्षेत्रको असर पनि देखिएको छ । मनसुनको न्यून चापीय रेखाको साविक स्थान भन्नाले भारतका उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगाल खाडीसम्म जनाउँछ ।

देशभर समग्र मौसमको अवस्था 

हाल देशभर सामान्यतया बदली छ । देशको पूर्वी भू–भागका केही स्थानहरूमा मेघ गर्जन गराउने बादल सक्रिय छ । पूर्वी तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । देशका पूर्वी र पश्चिमी पहाडी भू–भागका केही स्थानहरूमा पनि वर्षा भइरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

श्रावण २२ गते बुधबार

दिउँसो : देशका पूर्वी र मध्य भू–भागहरूमा सामान्यदेखि पूर्ण बदली रही देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । देशका केही स्थानमा मेघ गर्जनचट्याङ्गसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । मध्य र पूर्वी नेपालका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्यतया बदली रही पूर्वी र मध्य भू–भागका केही स्थानमा र पश्चिमी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

श्रावण २३ गते बिहीबार

दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ ।

राति : देशभर सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम वर्षा हुनेछ ।

श्रावण २४ गते शुक्रबार

दिउँसो : देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । पूर्वी पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ ।

राति : देशभर सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ । पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुन सक्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button