तपाईँ सुन्दै हुनुहुन्छः

जुँगु पहिरो:बेपत्ताको खोजीमा तालिम प्राप्त कुकुरको प्रयोग

दोलखा-दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ र २ मा पर्ने जुँगुमा चार दिन अघि गएको पहिरोमा बेपत्ता वडा नम्बर १ का जगतबहादुर खत्री र वडा नम्बर २ का निशान खड्काको खोजिको लागि हिजोबाट तीन वटा तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ ।  पहिरोमा बेपत्ता भएका दुई जनाको खोजिको लागि काठमाडौँबाट नेपाली सेनाको तालिम प्राप्त तीनवटा कुकुर सहितको टिम र राडर टिम आएको तारादल गण चरिकोटका गणपति निखिल कुँवरले बताउनु भयो । टोलिले मंगलवार विहान ११ः३० बजेदेखिनै खोजि सुरु गरेको गणपति कुँवरले बताउनु भयो ।

बेपत्ताको खोजि र पहिरोले पुरीएका पशु चौपायाको व्यवस्थापनको लागि तारादल गण चरिकोटबाट क्याप्टेन सन्तोष अधिकारीको नेतृत्वमा १५ जना, सशस्त्र प्रहरी गण चरिकोटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक नेत्रबहादुर कार्कीको नेतृत्वमा १५ जना र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय जिरीबाट प्रहरी नायव निरीक्षकको नेतृत्वमा ७ जनाको टिम परिचालन गरिएको तर अहिलेसम्म बेपत्ता दुई जनालाई भेट्न नसकिएको दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।

साउन १९ गते विहानै देखि नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीको टोलिले उद्दार, राहत र खोजिमा सक्रियता पूर्वक काम गरिरहेको तर बेपत्ता दुई जनालाई भने अहिलेसम्म पनि भेट्न नसकिएको सशस्त्र प्रहरी नायव उपरीक्षक किरणकुमार कठाएतले बताउनु भयो । प्रतिकुल मौसम, प्राकृतिक कठिनाई लगायतका कारण खोजिमा समस्या भएको सशस्त्र प्रहरी नायव उपरीक्षक कठाएत बताउनु हुन्छ ।

अविरल बर्षा पछिको पहिरोले वडा नम्बर १ जुँगु झगेडेको डम्बरबहादुर खत्रीको २ वटा, राजन खत्रीको १ वटा, बालकृष्ण खत्रीको १ वटा, गौरव खत्रीको १ वटा, बलबहादुर खत्रीको १ वटा, नवराज खत्रीको १ वटा र दीपक खत्रीको २ वटा गरी ९ वटा घर पुरीएको छ । त्यसैगरी विरौसीको गंगा खत्रीको १ वटा र अर्को एउटा गरी दुईवटा घर पुरीएको स्थानियले बताए । जुँगुको वडा नम्बर १ र २ मा गरी झण्डै ८० घरका मानिस विस्थापित भएको स्थानिय प्रशासनले जनाएको छ ।

पहिरो लगतै पूर्व राज्यमन्त्री एवं जुँगुको स्थानिय देवी खड्का उद्दार, राहत र बेपत्ताको खोजिमा सक्रिय बन्नु भएको छ । त्यसैगरी पहिरो पीडितहरुलाई दोलखाका संघिय सांसद पार्वत गुरुङ, पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, प्रदेश सांसद पशुपति चौलागाई, नेकपा नेता गंगा कार्की, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, नेकपा दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का लगायतको पहलमा राहत वितरण र उद्दारमा सहयोग भै रहेको स्थानियले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button