तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकपका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं। सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोट खेलका लागि मंगलबार नेपालले ३१ सदस्यीय प्रारम्भिक फुटबल खेलाडीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक योहान कालिनले प्रशिक्षणमा रहेका ३६ खेलाडीबाट ३१ जना छनोट गरेका हुन् ।

पहिलो चरणमा प्रशिक्षणमा रहेका पाँच खेलाडी बाहिरिएका छन् । टिम बाहिरिनेमा रक्षक कमल श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङ्देम्बे, अमित तामाङ र मिक्चेन तामाङ रहेका छन् । विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेई रहेका छन् । दोस्रो चरणको छनोट सन् २०१९ को सेप्टेम्बर ५ देखि सन् २०२० को जुन ९ जुनसम्म सञ्चालन हुनेछ ।

नेपालले छनोट चरणको पहिलो खेल कुवेतसँग खेल्दैछ । होम र अवेका आधारमा खेलिने यस खेलमा नेपालको दशरथ रंगशालाको निर्माण कार्य नसकिएकोले नेपालले दुवै खेल कुवेतमा खेल्ने तयारी गरेको छ । कुवेतसँगको दोस्रो खेल नोभेम्बर १९ मा उसैको मैदानमा हुनेछ । यसैगरी नेपालले सेप्टेम्बर १० मा चाइनिज ताईपे र अक्टोबर १५ मा जोर्डनसँग उसैको मैदानमा खेल्नेछ ।

नेपालले चाईनिज ताईपेसँग सन् २०२० को मार्च २६ को अवे र जोर्डनसँग सन् २०२० को जुन ४ मा दशरथ रंगशालामा खेल्नेछ । यस्तै नेपालले अष्ट्रेलियासँग आगामी अक्टोबर १० मा अवे खेल खेल्नेछ । घरेलु मैदानमा भने अष्ट्रेलियासँग सन् २०२० को मार्च ३१ मा खेल्नेछ । विश्वक खेलिसकेको अस्ट्रेलिया नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो ।

एएफसीले एसियाका ४० देशलाई आठ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा पाँच टोली छन् । दोस्रो चरणको छनोटबाट आठवटै समूहका विजेता र चारवटा उत्कृष्ट उपविजेता गरी १२ टोली तेस्रो चरणमा छनोट हुनेछन् । तेस्रो चरणमा छनोट हुने टोलीले सन् २०२३ को एसियन कप खेल्ने मौका पनि पाउँनेछन् ।

राष्ट्रिय टोली :

विराज महर्जन, किरण चेम्जोङ, विकेश कुथु, विमल घर्तिमगर, रोहित चन्द, भरत खवास, विक्रम लामा, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, विशाल राई, अञ्जन विष्ट, रञ्जित धिमाल, सन्तोष तामाङ, विमल राना, एलन न्यौपाने, अजित भण्डारी, अभिषेक रिजाल, रवि सिलवाल, सरोज दाहाल, तेज तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ, रवि पासवान, अनन्त तामाङ, सुनिल बल, सुवास गुरुङ, दिनेश राजवंशी, हेमन गुरुङ, विशाल श्रेष्ठ, विमल पाण्डे र त्रिदेव गुरुङ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button