तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा ३६ सम्बन्धविच्छेद मुद्दा दर्ता

भोजपुर । जिल्ला अदालत भोजपुरको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ९९ मुद्दा दर्ता भएका छन् । भोजपुरमा पछिल्लो समय सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको हो ।

३६ मुद्दा पुरुषले दर्ता गराएका छन् भने बाँकी महिलाले दर्ता गराएको अदालतले जनाएको छ । पुरुषले पनि श्रीमतीविरुद्ध सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गर्न सक्ने नयाँ कानूनी व्यवस्थाको प्रयोग गर्दै ३६ पुरुषले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका हुन् । भदौ १ गतेदेखि लागू भएका पाँच नयाँ कानूनमध्ये मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४ मा उल्लेखित व्यवस्थाको प्रयोग गर्दै उनीहरूले मुद्दा दर्ता गराएका हुन् ।

कार्यालयका अनुसार वैदेशिक रोजगारी, अविश्वास र रकम हिनामिना, सामाजिक सञ्जालको दुरुपयोग, घरेलु हिंसालगायतका कारण सम्बन्धविच्छेद घटना बढ्दै गएको हो ।

विगत दुई आर्थिक वर्षको तथ्याङ्कअनुसार जिल्ला अदालतमा यो वर्ष सम्बन्धविच्छेदका मुद्दा बढेको अदालतको भनाइ छ । गत आर्थिक वर्षमा परेका ९९ मुद्दामध्ये ८३ मुद्दा फछ्र्योट भएका छन् भने १६ मुद्दा बाँकी रहेको जिल्ला अदालतले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button