तपाईँ सुन्दै हुनुहुन्छः

रुद्राक्षको दानामा लगाईएको प्लाष्टिकको क्लिप प्रहरीले हटायो

भोजपुर-भोजपुरको उत्तरी क्षेत्रमा रुद्राक्षको दानालाई राम्रो बनाउन भन्दै लगाएको प्लाष्टिकको क्लिप प्रहरीले हटाएको छ । ठेकेदारले रुद्राक्षको दाना राम्रो वनाउन भन्दै लगाएको प्लाष्टिकको क्लिप प्रहरीले हटाएको हो । ठेकेदारले किसानबाट वगान खरिद गरि आफु खुसी षडानन्द नगरपालिकाको विभिन्न क्षेत्रहरुमा रुद्राक्षमा लगाएको क्लिप हटाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

क्लिप राखेर रुद्राक्षको दाना अप्राकृतिक वनाएको भन्दै गृह मन्त्रालयबाट निर्देशन आएपछि क्लिप हटाएको प्रहरी निरीक्षक राजवंशीको भनाई रहेको छ । षडानन्द नगरपालिकाको केउरेनीपानी र साल्मा भन्ने ठाउँमा रुदाक्षको बोटमा लगाइएको क्लिप हटाइएको प्रहरीको भनाई छ । प्रहरीले केउरनेपानीका पीताम्बर लम्सालको बगानमा रुद्राक्षमा लगाइएको एक सय ६ र साल्माका ज्ञानेन्द्र बस्नेतको बगानमा लगाइएको दुई सय २५ वटा क्लिप हटाएको छ ।

कृषकहरूबाट नेपाली व्यवसायीले बोटमै ठेक्का लिएर आफू खुसी क्लिप लगाएर आकार परिवर्तन गरेकाले गृह मन्त्रालयको निर्देशन अनुसार क्लीप हटाइएको प्रहरीले जनाएको छ । चिनियाँ व्यापारीले प्लास्टिक क्लिपको सहायतामा रुद्राक्षको दानालाई गोलो, अन्डा र थेप्चो आकारमा आवश्यकता अनुुसार बनाउने गरेपनि अप्राकृतिक रुद्राक्षले अन्तराष्ट्रिय बजारमा पार्ने असरका बारेमा भने कृषक अनविज्ञ रहेका छन् ।

रुद्राक्षको अप्राकृतिक आकार र रूपले विश्व बजारमा नेपाली गुणस्तर र छवि बिग्रने भएकाले क्लिप हटाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button