बागलुङमा पहिरोमा घर पुरिँदा हजुरआमा र नातिसहित ३ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षासँगै बागलुङको तमानखोला गाउँमा खसेको पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । तमानखोला गाउँपालिका–४, लाम्लेलामा आइतबार राति १ः३० बजे गाउँको १ सय ५० मिटर माथिबाट खसेको पहिरोले घर पुरिँदा एकै घरका हजुरआमा र नातिको मृत्यु भएको हो ।
७० वर्षीया अनसरी श्रीपाली र उनका १२ वर्षीय नाति प्रविण श्रीपालीको ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोले पुरिँदा अर्को घरकी ४५ वर्षीया पञ्चकुमारी श्रीपालीको पनि मृत्यु भएको बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले बताए ।
पहिरोले त्यहाँ ४ वटा घर पूर्णरुपमा भत्किएका छन् भने ३ घरमा आंशिक क्षति पुगेको छ। घटनास्थलमा अहिले प्रहरी पुगेको छ।प्रहरीसहित पुगेको मेडिकल टोलीले घाइतेको उपचार गरिरहेको डिएसपी भट्टराईले जानकारी दिए।
उनका अनुसार बोङ्गादोभानबाट करिब ४ घण्टाको हिँडाइपछि प्रहरी टोली घटनास्थल पुगेको हो। अहिले बुर्तिबाङबाट अर्को १० जनाको प्रहरी टोली पनि घटनास्थल तर्फ लागेको उनले जानकारी दिए।
प्रतिक्रिया राख्नुहोस्