तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषदको निर्णयः भारतिय प्रधानमन्त्रीको नेपाल भ्रमणको तयारी देखि उपनिर्वाचन सम्म

केशव ढुंगाना, काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी भइरहेको जानकारी दिनुभएको छ ।

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरू बारे जानकारी दिन आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले संचारकर्मीहरुको प्रश्नको जवाफमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको तयारी भइरहेको जानकारी दिनुभएको हो ।

संचारकर्मीहरुको एक अर्को प्रश्नको जवाफमा संचारमन्त्री बाँस्कोटाले विप्लव समूहसँग सार्थक वार्ताका लागि सरकार सधै तयार रहेको बताउनुहुँदै विप्लव समुहलाई हिंसा छोडेर लोकतान्त्रिक प्रणालीमा आउन आग्रह गर्नुभयो ।
सरकारले स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १४ गते गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरू बारे जानकारी दिन आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले निर्वाचन आयोगको सिफारिस बमोजिम आगामि मंसिर १४ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिनुभयो ।

मन्त्री वाँस्कोटाका अनुसार मन्त्रिपरिषद् बैठकले नेपालले संयुक्त राष्ट्र संघको महासभामा अल्पविकसित राष्ट्रहरूमा स्वास्थ्यको सर्वव्यापी पहुँच सम्वन्धी अतिरिक्त कार्यक्रमको नेतृत्व गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले नेपालको सडक मार्ग सुधारका लागि एशियाली विकास बैंकबाट २१ अर्ब ४५ करोड रूपैयाँ सहुलियतपूर्ण ऋण सहायता लिने सम्वन्धमा वार्ता गर्न टोली गठन गरी वार्ताको अख्तियारी दिने, निवृत्तिभरण कोष स्थापना नभएसम्मका लागि कर्मचारी सञ्चयकोषलाई नै निवृत्तभरण कोष सञ्चालन गर्ने जिम्मेवारी दिने, प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूको आर्थिक वर्ष २०७५÷७६ को तलवमान निर्धारण गर्ने, आर्थिक वर्ष २०७६÷०७७ का लागि राष्ट्रसेवक कर्मचारी तथा शिक्षकको नयाँ तलवमान तोक्ने निर्णय गरेको छ ।

यसैगरी सोही बैठकले कम्पनीमा रूपान्तरण भएका यातायात व्यवसायि समितिको बैंक खातामा रहेको रकम रूपान्तरित कम्पनीको बैंक खातामा सार्ने व्यवस्था मिलाउने, कन्चनपूर घटनाका घाईते अर्जुन भण्डारीलाई राहत स्वरूप मासिक २५ हजार रूपैयाँ उपलब्ध गराउने पनि निर्णय गरेको छ ।

मन्त्रीपरिषद् बैठकले सार्वजनिक खरिद (आठौं संशोधन) नियमावली २०७६ स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशित गर्ने, काठमाडौको कीर्तिपूर नगरपालिका भित्रका स्ववासीको घरजग्गा दर्ता सम्वन्धी समिति गठन आदेश २०७६ स्वीकृत गर्ने, मनास्लु संरक्षण क्षेत्रको व्यवस्थापकीय जिम्मेवारी २०७५ पौष १३ गते देखि २०७७ असार १३ गते सम्मका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिने, गोरखाको भीमसेन थापा गाउँपालिकाको केन्द्र घ्याम्पे साल बाट परिवर्तन गरी खान्चोकमा कायम गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button