तपाईँ सुन्दै हुनुहुन्छः

मेस्सीमाथि प्रतिबन्ध, ३ महिना अन्तर्राष्ट्रिय फुटबल खेल्न नपाउने

 

१८ साउन, काठमाडौं । अर्जेन्टिना फुटबल टिमका क्याप्टेन लियोनल मेस्सीलाई ३ महिना अन्तर्राष्ट्रिय फुटबल खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । गएको महिना ब्राजिलमा भएको कोपा अमेरिका फुटबल प्रतियोगिताका क्रममा मेसीले यसलाई ‘भ्रष्ट’ भनेका थिए । साथै उनले कोपा अमेरिकाको उपाधि ब्राजिलका लागि निश्चित भएको टिप्पणीसमेत गर्न भ्याएका थिए । मेस्सीका लागि यही अभिव्यक्ति महँगो सावित भएको छ ।

कोपा अमेरिका फुटबलबारे उनले गरेको टिप्पणीलाई लिएर दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय कोनमेबोलले उनीमाथि प्रतिबन्ध लगाएको हो । प्रतिबन्धसँगै उनीमाथि जरिवानासमेत लगाइएको छ । बीबीसीका अनुसार, मेस्सीले ५० हजार अमेरिकी डलर तिर्नुपर्नेछ ।

तर, जरिवाना र प्रतिबन्धविरुद्ध मेस्सीले अपिल गर्न सक्नेछन् । त्यसका लागि उनीसँग ७ दिन समय रहेको बीबीसीले जनाएको छ ।

आउँदो सेप्टेम्बर र अक्टुबरमा अर्जेन्टिनाले चिली, मेक्सिको र जर्मनीसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । मेस्सीको अपिल खारेज भएमा उनले ती कुनै पनि खेल खेल्न पाउने छैनन् ।

मेस्सीमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइए पनि उनी क्लब प्रतिष्पर्धामा भने सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button