तपाईँ सुन्दै हुनुहुन्छः

भेडा पालनसँगै नमुना व्यक्तित्व बनेका छन् मुगुका बुढा

मुगु । हरेक दिन बाटो हिँड्दा होस् वा छिमेकीसँग बस्दा र भेडा चराउन जाँदा समेत खाली नबस्ने र ताखुको सहायताले ऊन कात्न डोरी कात्दै कुराकानी गर्ने र हिँडडुल गर्ने साधारण जीवनशैलीका ६१ बर्षीय तुलाराम बुढाको दिनचर्या हो ।
छायाँनाथ रारा नगरपालिका वडा नं ११ रोबा गाउँका बुढाले भेडा पालन र हाते औजारको प्रयोगबाट कोट तथा ईष्टकोट बनाउने पाखो, राडीपाखी लिउ, फेरुवा बुनेर बर्षेनी लाखौ रुपैयाँ आम्दानी गर्दै आएका छन् । बाङ्, सिरानी, चर्खा,रुली, बया, पिठान्नु, ताखु र पुईनाटा लगायतका घरेलु सामाग्रीबाट उनी उनजन्य बस्तुहरु बुन्ने गर्दछन् । २०३५ सालबाट राडी पाखी लगायत कोट बनाउने पाखो बुन्दै आएका बुढाले त्यतिखेर एउटा कोट बनाउने पाखोको १४ सय देखि १५ सयमा बिक्री गर्ने गरेको बताउछन् । तर आज भोलि एउटा पाखोको रु. ९ हजारमा बिक्री हुने गरेको छ ।
१४ जना परिवारको सदस्य भएको उनको घरमा भेँडा पालन र उद्योगबाट २०६५ साल यता १० लाख रुपैयाँ भन्दा बढी आम्दानी गरेको बुढाले बताए । उनले भने “उद्योग र भेँडा पालनको आम्दानीले दुई जना छोरा र बुहारीलाई उच्च शिक्षा सम्म पढाईरहेको छु भने घर खर्च गरि बचेको ५ लाख रुपयाँ बैङ्कमा बचत गरेको छु ।”
जिल्लामा विभिन्न समयमा हुने गरेका घरेलु उद्योगबाट उत्पादित बस्तुको प्रर्दशनीमा उनी ९ पटकसम्म राडीपाखीतर्फ प्रथम भईसकेका छन् । यसैगरि राडीपाखी बुनाईबाट जिल्लाकै उत्कृष्ट उद्योगीका रुपमा छनौट भई थाईल्याण्ड भ्रमण समेत गरेका छन् । हाल उनीसँग ८० वटा भेडा बाख्रा रहेका छन् । उनी भन्छन्, ‘मेहनतको फल मिठो हुने र रुपैयाँ कमाउन बिदेशै जानु पर्छ भन्ने केही छैन मैले कसैलाई हात थाप्नु परेको छैन् । बरु मैले नै अरुलाई सहयोग गरेको छु ।’
हाल बजारमा कोट बनाउने पाखोको माग धेरै भएपनि माग अनुसार पुर्ति गर्न नसकेको उनले बताए । आफूले बुनेको पाखो काठमाण्डौ, पोखरा, लगायत बिदेशमा समेत बिक्री हुने गरेको बुढाको भनाई छ । परम्परागत तरिकाबाट उद्योग सञ्चालन गरेपनि समय धेरै लाग्ने गरेकाले पनि अझै अपेक्षित फाईदा लिन नसकेको उनको धाराणा छ । घरमा नै पालिएका भेडा बाख्राको ऊनबाट राडी, फेरुवा, लिउ उत्पादन गरेपनि कोट बनाउने कपडाका लागि भने उनले तिब्बतबाट प्रति किलो रु. ५ सयका दरले भेडाको ऊन खरिद गर्ने गरेका छन् । केही नगरि हात बाँधेर बस्ने तर बेरोजगार भयौं भन्ने युवाको लागि मेहनति बुढा जिल्लाकै नमुना उद्योगी बनी सबै युवाका प्रेणाका श्रोत बनेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button