तपाईँ सुन्दै हुनुहुन्छः

९ सय ८९ अधिकृत श्रेणीका अस्थायी दरबन्दी स्वीकृत

सुरेन्द्रमणि त्रिपाठी । सरकारले विभिन्न आयोजना सञ्चालनका लागि तीनवटा मन्त्रालयमा ९ सय ८९ अधिकृत श्रेणीका अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

मन्त्रीपरिषदको पछिल्ला बैठकका निर्णयहरुबारे जानकारी दिन आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सुचना प्रबिधी मन्त्री गोकुल प्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकले विभिन्न आयोजना संचालनका लागि खानेपानी मन्त्रालयलाई २ सय १३, वन तथा वातावरण मन्त्रालयका लागि ५० र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ७ सय २६ राजपत्राङ्कित श्रेणीका अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यसैगरी, बैठकले नेपाल नागरिक उड्यन प्राधिकरण ऐन तथा नेपाल हवाई प्राधिकरण ऐन बनाउन सैद्धान्तिक स्वीकृति दिने, दुरसञ्चार (नवौं संशोधन) नियमावली २०७६ स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले युवा रोजगारीका लागि रूपान्तरण पहल परियोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ऋण सहायताका रूपमा प्रस्तावित १ सय २० मिलियन अमेरिकी डलर स्वीकार गर्ने सम्वन्धमा नेपाल सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने, नेपाल बन्दरगाह प्राधिकरण सम्वन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती दिने निर्णय गरेको छ ।

सञ्चार मन्त्री बाँस्कोटाले रौतहट जिल्लामा भएको जिप दुर्घटनामा परी मृत्यू भएका थुनुवाहरू मुकेश भनिने निर्मल शाह र रमेशकुमार चौधरीको परिवारलाई प्रतिपरिवार रू ५ लाख उपलब्ध गराउने र कञ्चनपूर जिल्लामा मृत्यू भएका चन्द्रदेव भट्टको परिवारलाई ५ लाख राहत उपलब्ध गराउने निर्णय भएको बताउनुभयो ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीले नेपाल सरकार समक्ष पेश गरेको प्रतिवेदन आवश्यक कारवाहीका लागि गृह मन्त्रालयमा पठाउने र राष्ट्रिय परिचय पत्रमा हाल कायम रहेको विवरण मध्ये केही विवरण कार्ड चिप्स र प्रणालीमा राखि परिमार्जन गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकले शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा र जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुसुदन अधिकारीलाई शहरी विकास मन्त्रालयमा सरुवा गरेको छ ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरूषोत्तम प्रसाद खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको एक प्रश्नमा सञ्चारमन्त्री बाँस्कोटाले चीनसंग कनेक्टिीभिटीको कुरा अगाडी बढेको र त्यसमा केही समय लागे पनि राम्रो परिणाम देखिने बताउनुभयो ।

पत्रकारहरुको एक अर्को प्रश्नको जवाफमा सञ्चारमन्त्री बाँस्कोटाले ‘रअ’ का प्रमुखले प्रधानमन्त्रीलाई नभेटेकोे बताउनुहुँदै हल्ला फैलाउने काम नगर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button