तपाईँ सुन्दै हुनुहुन्छः

पार्टी एकताको काम निश्कर्षमा पुगिसक्योः प्रचण्ड

काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवस आज विविध कार्यक्रमका साथ मनाईंदैछ ।
४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले आज कीर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी–नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको बताउनु भएको छ ।

अध्यक्ष प्रचण्डले पार्टी एकता गरेर नेतृत्वलाई अझ परिपक्व बनाउने ठाउँमा आफुहरु आईपुगेको स्पष्ट पार्नुभयो । पार्टी एकता निक्कै सुझबुझपूर्ण निर्णयका आधारमा गरिएको उहाँले बताउनुभयो ।
स्पष्ट विचार, राजनीति, विधि पद्धतिका आधारमा संगठनको निर्माण, कम्युनिष्ट मूल्य मान्यताका आधारमा कम्युनिष्ट पार्टीलाई अझ एकताबद्ध बनाएर लैजाने काममा सबै लाग्नुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिनुभयो।

अहिलेका कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता पुष्पलालका सन्तान र उत्तराधिकारी भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विभाजन भएको पार्टीलाई एकताबद्ध गर्ने र शसस्त्र किसान संर्घष मार्फत जनवादी क्रान्ति पूरा गर्ने पुष्पलालको योगदानको चर्चा गर्नुभयो ।

पार्टी एकताका काम करिव निष्कर्षतिर पुगेको भन्दै उहाँले अब केही कामलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताउनुभयो ।
एकताको काम सक्ने बित्तिकै स्थायी समिति र केन्द्रीय समितिको बैठक बसेर देशब्यापी अभियानमा जाने पनि अध्यक्ष प्रचण्डको भनाई थियो । उहाँले कार्यकर्ता र जनतालाई उत्साहित गर्ने गरी र सुशासन र विकासको एउटा मोडेल प्रस्तुत गर्ने गरी अब पार्टीले अभियान चलाउने प्रष्ट पार्नुभयो ।
सो अवसरमा नेकपाका वरिष्ठ नेताहरु माधबकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम लगायतले चम्पादेबीस्थित पुष्पलालको प्रतिमामा श्रद्धासुमन अर्पण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button